मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिममा अझै वर्षाको सम्भावना

मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिममा अझै वर्षाको सम्भावना

काठमाडौं : यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिँदै गए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अझै केही दिन वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावका कारण आज र मङ्गलबारसम्म ती प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका मौसमविद्हरूका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लागेको छ भने एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। ती प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना पनि रहेको बताइएको छ।

महाशाखाले विशेष गरी कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यस वर्ष मनसुन सामान्यतया बाहिरिने मिति अक्टोबर २ भए पनि चार दिन ढिलो गरी आजदेखि मात्रै नेपालबाट मनसुन बाहिरिन थालेको विभागले जनाएको छ।

विभागद्वारा जारी विज्ञप्तिअनुसार, “सन् २०२५ को मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागका थोरै स्थानबाट बाहिरिएको छ।”

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार प्रायः मनसुन बर्हिगमन हुने समयमा पनि केही वर्षा हुने क्रम रहन्छ । “सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ, तर कहिलेकाहीँ ढिलो पनि हुन सक्छ । यो वर्ष औसतभन्दा करिब चार दिन ढिलो मनसुन बाहिरिएको छ,” उनले भने।

असोज २०, २०८२ सोमबार १८:००:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।