माओवादी बैठकमा दाहालको ‘ब्रिफिङ’ : चुनावमा जाने विषयमा दलहरूबीच सकारात्मक छलफल भइरहेको छ

माओवादी बैठकमा दाहालको ‘ब्रिफिङ’ : चुनावमा जाने विषयमा दलहरूबीच सकारात्मक छलफल भइरहेको छ

काठमाडौं : माओवादी केन्द्रले पूर्वी नेपालमा आएको प्राकृतिक विपद्बाट जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनर्निर्माणमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने आग्रह गरेको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले विपद् प्रतिकार्यमा जुटिरहेका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै सबै तहमा सहयोग र एकताबद्ध प्रयास गर्न आह्वान गरेको हो।

बैठकमा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, समाजवादी मोर्चा र संयुक्त मोर्चा विस्तारका विषयमा ‘ब्रिफिङ’ गर्नुभएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

दाहालले आसन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग संवाद भइरहेको र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न वातावरण सकारात्मक बन्दै गएको बताएका थिए।

प्रवक्ता सापकोटाका अनुसार, “चुनावमा सहभागिता विषयमा सबै दलबीच सकारात्मक छलफल भइरहेको छ। अन्य दलका बैठकहरू पनि निरन्तर भइरहेका छन्। चुनावमा जानेमा आमसहमति बन्ने संकेत देखिएको छ,” भन्दै माओवादीले चुनावलाई सर्वोच्च प्राथमिकतामा राखेको स्पष्ट पारे।

“निर्वाचन सम्पन्न नगरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र अन्य राजनीतिक उपलब्धि सुरक्षित गर्न सकिँदैन, त्यसैले माओवादी केन्द्र चुनावमै केन्द्रित छ ,” उनले भने।

बैठकमा महाधिवेशनको कार्यविधि तयारी, आयोजक समिति संरचना, र पार्टीको विचार, सङ्गठन तथा राजनीतिक कार्यदिशाबारे प्रारम्भिक छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

असोज २०, २०८२ सोमबार १७:१२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।