अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको ‘न्यारो बडी ए–३२०’ विमान भैरहवा पुग्यो

अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको ‘न्यारो बडी ए–३२०’ विमान भैरहवा पुग्यो

काठमाडौं : बाढी र खराब मौसमका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई उद्धार गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए–३२०’ विमान भैरहवा पुगेको छ। 

‘आरए १७३१’ उडान नम्बरको सो विमानले काठमाडौँबाट ८३ यात्रु लिएर भैरहवा पुगेको र त्यहाँबाट करिब १५१ यात्रु लिएर फिर्ता आउने निगमले जनाएको छ। यात्रुको सङ्ख्या भने केही तलमाथि हुन सक्ने बताइएको छ। निर्धारित समयअनुसार दिउँसो २ः४५ बजे ‘आरए १७३२’ उडान काठमाडौं फर्कने तालिका भए पनि केही ढिलाइ हुने अनुमान गरिएको छ।

निगमले सरकारको निर्देशनअनुसार बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार उडान सञ्चालन गरिएको जनाएको छ।

उक्त उद्धार उडानका लागि भाडादर काठमाडौँबाट रु पाँच हजार र भैरहवाबाट रु सात हजार तोकिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार आज मौसम अनुकूल भएकाले नियमित उडान पनि सुचारु छन्। उद्धार उडानले असहज अवस्थामा परेकालाई राहत मिल्ने अपेक्षा गरिएको छ।”

निगमका अनुसार उद्धार उडानमा अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइनेछ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भैरहवामा अझै ठूलो संख्यामा यात्रु उडान पर्खिरहेका बताए। “विमानस्थलमा यात्रुको भीड अत्यधिक छ। सिट सीमित भएकाले सबैलाई एकै पटक पठाउन कठिन भइरहेको छ। केही एयरलाइन्सले अतिरिक्त उडान थपेका छन्, हामी यात्रुलाई सकेसम्म छिटो गन्तव्यमा पठाउन प्रयासरत छौँ,” उनले भने।

असोज २०, २०८२ सोमबार १६:१४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।