मनसुनजन्य विपद्मा ४६ जनाको मृत्यु, पानी रोकिएपछि जनजीवन क्रमशः सामान्य बन्दै

मनसुनजन्य विपद्मा ४६ जनाको मृत्यु, पानी रोकिएपछि जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं : अविरल वर्षा, बाढी र पहिरोका कारण मुलुकभर हालसम्म ४६ जनाको मृत्यु भएको छ। पानी रोकिन थालेसँगै देशका धेरै भागमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार, मनसुनजन्य विपद्बाट ६ जना बेपत्ता र २४ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बलका अनुसार, मनसुनका कारणका साथै यसबीच भएका सवारी दुर्घटनासमेत गरी कुल ५५ जनाले ज्यान गुमाएका छन्।

सबैभन्दा बढी क्षति कोसी प्रदेशमा भएको छ, जहाँ इलाममा मात्रै पहिरोले ३७ जनाको ज्यान लिएको छ। इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा डुबान र पहिरोका कारण ठूलो मानवीय क्षति भएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत १८ जना विपद् जोखिममा परेकालाई उद्धार गरिएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार, कोसी प्रदेशमा मात्रै विभिन्न २२ घटनामा ४९ जनाको मृत्यु, एक जना बेपत्ता र १७ जना घाइते भएका छन्। झापामा ४९० घरधुरी डुबानमा परेपछि १,६६४ जनालाई सुरक्षित स्थानमा सारिएको थियो। गौरीगञ्ज गाउँपालिकामा १०५ घरमा पानी पसेपछि स्थानीयलाई तत्काल उद्धार गरिएको थियो।

कोसी प्रदेशमा जनजीवन सामान्यतर्फ

सप्तकोसीमा पानीको बहाव घट्दै जाँदा प्रदेशको जनजीवन सामान्य बन्दै गएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार, राहत र पुनःस्थापनाका काम निरन्तर गरिरहेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वसूचनाका आधारमा गरिएको तयारी प्रभावकारी भएकाले थप क्षति हुन नपाएको सरोकारवालाहरूको भनाइ छ।

उपरथी एवं पूर्वी पृतनापति गौरवकुमार केसीले रासससँग कुरा गर्दै भने, “इलामका दुर्गम बस्तीमा पहिरोले पुरानो घर भत्किँदा बढी क्षति भयो। अहिले सप्तकोसीको जल सतह घटेको छ, तर मेची राजमार्ग अझै बन्द छ।” उनका अनुसार एकै कमाण्डअन्तर्गत संयुक्त सुरक्षातोली परिचालन भएकाले उद्धारमा सहजता आएको छ।

नेपाल प्रहरीका कोसी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले पनि स्थिति सामान्य हुँदै गएको जानकारी दिए। “इलामका घाइतेहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। अबको प्राथमिकता सडक सञ्चालनमा ल्याउने हो,” उनले भने। उनका अनुसार प्रभावित अन्य जिल्लामा पनि पहिरोबाट बन्द भएका सडक खुलाउन प्रहरी परिचालन गरिएको छ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार, उद्धारपछि अहिले पुनःस्थापनाको कामलाई प्राथमिकता दिइएको छ। “इलाममा धेरै घर ध्वस्त भएका छन्, पुनःनिर्माणको नीति सरकारले बनाउनेछ। सप्तकोसीको जलस्तर घटेकाले खतराको संकेत हटिसकेको छ, हामी जनजीवन सामान्य बनाउन तल्लिन छौँ,” उनले भने।

सडक अवरुद्ध हुँदा केन्द्रीय टोली रोकियो

इलाममा सात ठाउँमा सडक अवरुद्ध भएपछि गृहमन्त्री ओमप्रकाश अर्यालसहितको केन्द्रीय टोली आज स्थलगत अवलोकनका लागि पुग्न सकेन। सशस्त्र प्रहरीका डीआईजी न्यौपानेका अनुसार, सडक अवरुद्ध भएकाले टोलीको भ्रमण असम्भव भएको हो।

उनले भने, “हामी सबै सुरक्षा निकाय संयुक्त रूपमा विपद्पश्चात् उद्धार र सहयोगमा जुटेका छौँ। नागरिकको सहकार्यले मात्रै यस कठिन अवस्थाबाट छिट्टै सामान्यतर्फ फर्किन सकिन्छ।”

असोज २०, २०८२ सोमबार १५:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।