दसैंपछि कोरला नाकामा आन्तरिक पर्यटकको भीड

दसैंपछि कोरला नाकामा आन्तरिक पर्यटकको भीड

मुस्ताङ : पछिल्ला वर्षहरूमा मुस्ताङको उत्तरी छेउमा रहेको कोरला नाका नयाँ पर्यटकीय आकर्षणको रूपमा उभिँदै गएको छ। राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज बन्दै गएपछि यो उच्च हिमाली सीमा क्षेत्रमा पुग्ने आन्तरिक पर्यटकको संख्या तीव्र गतिमा बढेको छ।

समुद्री सतहबाट ४,६१० मिटर उचाइमा रहेको नेपाल-चीन सीमा नाकाको २४ नं सीमास्तम्भ, अर्थात् जङ्गे पिल्लर, कोरला नाकाको मुख्य प्रवेशद्वार हो। अहिले यो ठाउँमा मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुगेका करिब ५० प्रतिशत आन्तरिक पर्यटक पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

दसैं सकिएलगत्तै मुस्ताङमा पर्यटकको भीड बढेको छ। असोज १७ र १८ गते दुई दिनमै ६,१७३ जना आन्तरिक र ६८८ जना विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका छन्। सो अवधिमा २,२१७ सवारीसाधन पनि मुस्ताङ पुगेका थिए। प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार, जेनजी आन्दोलन र प्रतिकूल मौसमको चुनौतीका बाबजुद पर्यटक संख्या वृद्धि निरन्तर जारी छ।

न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) का इञ्चार्ज विष्णुहरि थापाका अनुसार, दसैंको असोज १७ र १८ गते मात्रै दैनिक करिब १,५०० जना आन्तरिक पर्यटक कोरला नाका पुगेका थिए। दसैंपछिको तेस्रो दिन आइतबार मात्र १,७०२ जना पर्यटक नाका पुगेको र १२६ वटा बस, जिप तथा कारसँगै २२४ मोटरसाइकलले प्रवेश गरेको बताइएको छ।

थापाका अनुसार, कोरला पुग्ने धेरै पर्यटकलाई उचाइका कारण श्वासप्रश्वाससम्बन्धी समस्या (हाइअल्टिच्युड) देखिने गरेको छ। चिसोका कारण सवारीसाधन स्टार्ट नहुने, अक्सिजनको कमी हुने जस्ता समस्या बारम्बार देखिने भएकाले अबदेखि दैनिक बिहान ७ बजेसम्म मात्र नाका प्रवेश र साँझ ४ बजेसम्म फर्किने कार्यतालिका लागू गरिएको छ।

कोरला नाका पुगेका पर्यटकहरू नेपाल-चीन सीमाको २४ नं जङ्गे पिल्लर नजिक राष्ट्रिय झण्डा फहराउँदै फोटो र भिडियो खिच्ने गर्छन्। कतिपयले सीमामा रहेका चिनियाँ व्यापारीसँग त्रिपालमुनि राखिएका सामान खरिद गरेर कोसेलीका रूपमा घर लैजाने गर्छन्।

स्थानीय व्यापारीहरूका अनुसार, नेपाली पर्यटकको आगमनले सीमाक्षेत्रमा व्यापारमा उत्साह थपिएको छ। तर पर्यटकहरूले भने उत्तरतर्फको तिब्बती भूमिमा निर्माण भएका भव्य संरचना देख्दा खिन्नता व्यक्त गर्ने गरेका छन्।

चीनले कोरला नाकालाई उत्तर-दक्षिण व्यापारिक मार्गको रूपमा विस्तार गर्दै विशाल भौतिक संरचना बनाइसकेको भए पनि नेपालतर्फ भने आवश्यक पूर्वाधार अझै निर्माण हुन सकेको छैन।

असोज २०, २०८२ सोमबार १४:५६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।