सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरियो मनसुन

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले सोमबार एक विशेष बुलेटिन जारी गर्दै यस वर्षको मनसुन नेपालको पश्चिमी भू-भागबाट बाहिरिन शुरू भएको औपचारिक घोषणा गरेको छ।
महाशाखाका अनुसार आज, असोज २० गतेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन पूर्ण रूपमा हटेको छ। यसैगरी, लुम्बिनी प्रदेशका अधिकांश पश्चिमी भू-भाग र गण्डकी प्रदेशका केही पश्चिमी क्षेत्रबाट पनि मनसुन बाहिरिएको छ।
महाशाखाले जारी गरेको नक्सामा पनि पश्चिमी नेपालको भू-भाग मनसुन बाहिरिएको क्षेत्रका रूपमा देखाइएको छ भने मध्य तथा पूर्वी क्षेत्रमा मनसुनको प्रभाव कायमै रहेको देखिन्छ।
मनसुनी वायु क्रमशः कमजोर हुँदै गएकाले अबको केही दिनभित्रै देशका बाँकी भू-भागबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मनसुन बहिर्गमनको प्रक्रियालाई निरन्तर अनुगमन गरिरहेको र थप जानकारी अद्यावधिक गर्दै जाने बताएको छ।
नेपालमा सामान्यतया मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो।
असोज २०, २०८२ सोमबार १४:१७:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।