भारतीय सर्वोच्च अदालतमा वकीलद्वारा प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार, इजलासमै नाराबाजी

भारतीय सर्वोच्च अदालतमा वकीलद्वारा प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार, इजलासमै नाराबाजी

एजेन्सी : भारतको सर्वोच्च अदालतमा सोमबार प्रधानन्यायाधीश बीआर गवईमाथि एक वकिलले जुत्ता प्रहार गरेका छन्। प्रधानन्यायाधीश गवईको अध्यक्षतामा रहेको इजलासले एक मुद्दाको सुनुवाइ गरिरहेका बेला यो घटना भएको हो।

आरोपित वकिल प्रधानन्यायाधीशको डेस्क नजिक पुगेर जुत्ता निकालेर प्रहार गर्न खोजेका थिए। तर, अदालतमा उपस्थित सुरक्षाकर्मीले तत्कालै उनलाई नियन्त्रणमा लिए। बाहिर निकालिँदै गर्दा ती वकिलले ‘सनातनको अपमान सहँदैनौं’ भन्दै नारा लगाएका थिए।

घटनापछि प्रधानन्यायाधीश गवईले शान्त रहँदै अदालतमा उपस्थित वकिलहरूलाई बहस जारी राख्न आग्रह गरे। उनले भने, ‘यसबाट विचलित नहुनुहोस्। म पनि विचलित छैन, यस्ता कुराले मलाई फरक पर्दैन।’

सञ्चारमाध्यमका अनुसार, ती वकिलको नाम राकेश किशोर हो र उनी सन् २०११ मा सर्वोच्च अदालत बारमा दर्ता भएका थिए। प्रधानन्यायाधीश गवईले मध्यप्रदेशको खजुराहोमा रहेको भगवान् विष्णुको सात फिट अग्लो शिरविहीन मूर्तिको पुनर्स्थापनाबारे दिएको टिप्पणीप्रति उनी आक्रोशित रहेको मानिएको छ।

के थियो भगवान् विष्णुको मूर्तिसँग सम्बन्धित विवाद?
गत सेप्टेम्बर १६ मा सर्वोच्च अदालतले मध्यप्रदेशको खजुराहोस्थित जवारी मन्दिरमा रहेको भगवान् विष्णुको ७ फिट अग्लो खण्डित मूर्तिको पुनर्स्थापनाको माग गर्दै दायर याचिका खारेज गरेको थियो।

याचिका खारेज गर्ने क्रममा प्रधानन्यायाधीश गवईले भनेका थिए, ‘जानुहोस् र भगवानलाई नै यो गर्न भन्नुहोस्। तपाईं आफूलाई भगवान् विष्णुको कट्टर भक्त भन्नुहुन्छ, गएर उहाँसँगै प्रार्थना गर्नुहोस्।’

याचिकाकर्ताले उक्त मूर्ति मुगल आक्रमणकारीहरूले तोडफोड गरेको र त्यसयता त्यही अवस्थामा रहेको दाबी गरेका थिए।

टिप्पणी विवादित बनेपछि गवईको स्पष्टीकरण
आफ्नो टिप्पणीलाई लिएर विवाद बढेपछि सेप्टेम्बर १८ मा प्रधानन्यायाधीश गवईले स्पष्टीकरण दिएका थिए। उनले आफ्नो भनाइलाई सामाजिक सञ्जालमा गलत तरिकाले प्रस्तुत गरिएको र आफूले सबै धर्मको सम्मान गर्ने बताएका थिए।

सोही इजलासका न्यायाधीश के. विनोद चन्द्रनले सामाजिक सञ्जाललाई ‘असामाजिक सञ्जाल’को संज्ञा दिएका थिए। भारतका महान्यायाधिवक्ता तुषार मेहता र वरिष्ठ अधिवक्ता कपिल सिब्बलले पनि सामाजिक सञ्जालमा कुरालाई बढाइचढाइ प्रस्तुत गरिने भन्दै चिन्ता व्यक्त गरेका थिए।

यसैबीच, विश्व हिन्दू परिषद्का राष्ट्रिय अध्यक्ष आलोक कुमारले अदालत न्यायको मन्दिर भएको र यसको गरिमा कायम राख्नु सबैको कर्तव्य भएको बताएका छन्। उनले न्यायाधीश, वकिल र मुद्दाका पक्षहरू सबैले आफ्नो बोलीमा संयम राख्नुपर्नेमा जोड दिएका छन्।

असोज २०, २०८२ सोमबार १४:१२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।