दसैँ सकिएलगत्तै कोतघरहरूमा सराय नाचको रौनक

गुल्मी : दसैँ सकिएलगत्तै गुल्मीका कोतघरहरूमा सराय नाचको रौनक छाएको छ। पश्चिम नेपालका जिल्लाहरूमा प्राचीन युद्ध परम्परा झल्काउने यो सराय नाच एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाचिन्छ।
सराय नाचमा सहभागीहरूले खुडा, भाला, तरवार, खुकुरीजस्ता हतियार लिएर युद्ध अभ्यासजस्तो प्रदर्शन गर्छन्। ‘वाख्खै वा’ भन्ने पारम्परिक उच्चारणसँगै लाइनमा उभिएका समूहहरू आक्रमण र बचाउको मुद्रामा प्रस्तुत हुन्छन्। यो दृश्य युद्धमा सत्यको विजय र देवीप्रतिको श्रद्धाको प्रतीक मानिन्छ।
गुल्मी, अर्घाखाँची र प्यूठानलगायत जिल्लामा एकादशी, द्वादशी, त्रयोदशी र पूर्णिमाका दिन फरक-फरक स्थानमा सराय नाच हुने गर्छ। गुल्मीको इस्मा मैदान, धुर्कोट कालिका मन्दिर, वाग्ला कोत, राङदलचौर, कुमारीदेवी मन्दिरलगायत स्थानमा अहिले सराय नाच चलिरहेको छ। पूर्णिमाको दिन धुर्कोट कोत, अर्जै र मुसिकोटमा विशेष भीड लाग्ने गर्छ।
इस्माकोटका पुजारी गोविन्द अर्यालका अनुसार सराय नाचमा उमेरका कुनै सीमा हुँदैन। “बालबालिकादेखि वृद्धवृद्धासम्म हतियार हल्लाउँदै देवीको प्रसन्नता माग्ने परम्परा छ,” उनले भने।
वाग्ला माध्यमिक विद्यालयको प्राङ्गणमा विसं २०१५ भन्दा अगाडिदेखि नै सराय नाच चल्दै आएको स्थानीय हिमप्रसाद पन्थी बताउँछन्। “युद्धका हतियार देखाएर उत्सवको रूपमा मनाइने यो सराय युवाको सहभागितासँग अझै जोशिलो बन्छ,” उनले भने।
इस्माकोट मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष कृष्णप्रसाद रिजालले सराय नाचको सुरु कहिलेदेखि भएको हो भन्ने स्पष्ट नथाहा भए पनि “बाउबाजेकै पालादेखि मैदानमा सराय नाचिन्छ” भने। स्थानीयका अनुसार बाइसे–चौबिसे राज्यकालमा भुरे राजाहरूले आफ्ना कोतमा सराय नाच्ने परम्परा सुरु गरेका थिए।
सरायसँग जोडिएको किंवदन्ती
धार्मिक मान्यताअनुसार घटस्थापनादेखि नौ दिनसम्म देवी पूजामा महाकाली उत्पन्न भइ राक्षसवध गरेकी थिइन्। त्यसपछि रामले रावणवध गरे र विजयको प्रतीकका रूपमा दसैँ मनाउने चलन बस्यो। त्यसै विजयको उत्सवको स्मरणमा द्वापरयुगदेखि सराय नाच सुरु गरिएको जनविश्वास छ।
संरक्षणमा स्थानीय तहको पहल
धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले सराय नाचलाई व्यवस्थित बनाउन मन्दिर मर्मत, संरचना निर्माण र बजेट विनियोजनको काम अघि बढाएको बताए। “दसैँका बेला बसाइँ सरेका नागरिक फर्किने भएकाले सरायमा सहभागीता उत्साहजनक हुन्छ,” उनले भने।
इस्मा गाउँपालिकाका प्रमुख भगतसिंह खड्काले पनि परम्परागत कला–संस्कृति जोगाउन योजनाबद्ध रूपमा काम भइरहेको बताए। “पञ्चेबाजा र मठमन्दिर संरक्षणसँगै अब ऐतिहासिक सराय नाचलाई पनि प्रचार–प्रसार र जगेर्नाको दायरामा ल्याउने तयारी छ,” उनले बताए। उनका अनुसार करिब एक करोड रुपैयाँ लागतमा इस्माकोट मन्दिरको मर्मत तथा पुनर्निर्माण सम्पन्न भएको छ।
असोज २०, २०८२ सोमबार १४:०६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।