वर्षा रोकिएपछि काठमाडौंको जनजीवन सामान्य, सडक र बजारमा चहलपहल बढ्यो

काठमाडौं : केही दिनदेखिको अविरल वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ। आइतबारदेखि मौसममा सुधार आएसँगै अस्तव्यस्त बनेको सडक, यातायात र बजार क्षेत्र पुनः लयमा फर्किन थालेको हो।
लगातारको झरीले उपत्यकाका मुख्य सडकदेखि गल्लीसम्म पानी जम्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो भने सर्वसाधारणलाई आवतजावत गर्नसमेत कठिनाइ भएको थियो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले हाल उपत्यका भित्रिने र बाहिरिने नाकासहित सबै प्रमुख सडकहरू नियमित सञ्चालनमा आइसकेको जानकारी दिए।
उनले भने, ‘आइतबारदेखि मौसममा सुधार आएपछि सडकमा गाडीको चाप सामान्य अवस्थामा फर्किएको छ।’
यसैगरी, वर्षा रोकिएपछि असन, इन्द्रचोक, न्युरोड र बानेश्वरजस्ता प्रमुख व्यापारिक क्षेत्रमा पनि चहलपहल बढेको छ। व्यवसायीहरूका अनुसार दैनिक उपभोग्य वस्तु र अन्य सामग्री किन्नेहरूको भीड बढेको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव अझै कायम रहेको जनाएको छ।
महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ।
असोज २०, २०८२ सोमबार ११:५५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।