सगरमाथा पारी सयौं पर्यटक अलपत्र, ३५० भन्दा बढीको उद्धार

एजेन्सी : सगरमाथा पारी सयौं पर्यटक अलपत्र परेका छन्। अलपत्र परेका उनीहरू विभिन्न क्याम्पिङ क्षेत्रमा फसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, ३५० भन्दा बढी पर्वतारोहीलाई उद्धार गरी सुरक्षित रूपमा स्थानीय बजारमा सारिएको छ।
उद्धार टोलीले अन्य २०० भन्दा बढी व्यक्तिसँग सम्पर्क स्थापित गरेको जनाएको छ। यद्यपि, स्थानीय सञ्चारमाध्यमले शुरूमा करिब एक हजार पर्वतारोही फसेको अनुमान गरेका थिए।
सगरमाथाको पूर्वी ढलानमा पर्ने कर्मा उपत्यकामा शुक्रबार साँझदेखि शुरू भएको हिमपात शनिबारसम्म जारी रहँदा सयौं पर्वतारोहीहरू त्यहीँ फसेका हुन्।
पछिल्ला केही दिनदेखि हिमालय क्षेत्रको मौसम खराब रहेको छ। नेपालमा पनि भारी वर्षा, बाढी र पहिरोका कारण शुक्रबारयता कम्तीमा ४७ जनाको मृत्यु भइसकेको छ।
सगरमाथा ८ हजार ८४८ मिटरभन्दा बढी उचाइ भएको विश्वको सर्वोच्च शिखर हो। यहाँ हरेक वर्ष हजारौं मानिस पदयात्रा तथा पर्वतारोहणका लागि आउने गर्छन्।
असोज २०, २०८२ सोमबार ११:४१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।