सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ३३ हजार नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ३३ हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २,५०० रुपैयाँले बढेर २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको हो। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो।

महासंघका अनुसार, सोमबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ थियो। पछिल्ला दुई कारोबार दिनमा मात्रै सुनको भाउमा ९ हजार ९ सय रुपैयाँको वृद्धि भएको छ।

यसैगरी, चाँदीको मूल्य पनि बढेर नयाँ उचाइमा पुगेको छ। आज चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले बढेर २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार चाँदी प्रतितोला २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

असोज २०, २०८२ सोमबार ११:२१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।