सप्तकोशीमा पानीको बहाव घट्यो, ब्यारेजका ५६ ढोका खुला

इनरुवा : अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ।
मङ्गलबार बिहान ६ बजे गरिएको पछिल्लो मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ३५ हजार ३०५ क्युसेक प्रतिसेकेन्डमा झरेको छ।
सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार यो सोमबार रातिको तुलनामा करिब एक लाख क्युसेकले कम हो।
सोमबार राति पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेन्ड पुगेको थियो।
‘रातिदेखि वर्षा कम भएसँगै नदीको जलस्तर क्रमशः घट्दै गएको छ’, उनले भने।
बहाव अझै पनि खतराको तहभन्दा माथि रहेकाले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।
यसअघि आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको थियो र रातो झन्डा फहराइएको थियो।
असोज २०, २०८२ सोमबार १०:१४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।