तीन वर्षअघिको त्यो भाइरल तस्बिर अनि अहिलेको तिक्ततापूर्ण भारत-पाकिस्तान महिला क्रिकेट

‘खेल एकातिर हुन्छ र मित्रता आफ्नो ठाउँमा छ।’
करिब तीन वर्षअघि एकदिवसीय विश्वकपमा जब भारत र पाकिस्तानका महिला टोली आमनेसामने भएका थिए, पाकिस्तानी क्रिकेटर निदा डारले दुई देशका खेलाडीबीचको मित्रतालाई यसरी बयान गरेकी थिइन्। उनले वर्षौंदेखि भारत र पाकिस्तानका महिला क्रिकेटरबीचको सम्बन्ध झनै बलियो हुँदै गएको बताएकी थिइन्।
तर, गत आइतबार जब यी दुई टोली फेरि मैदानमा उत्रिए, निदा डारका यी शब्दहरू मानौं विगतका कथा बनिसकेका थिए।
दुबईमा भएको एसिया कपमा जस्तै, पहलगाम हमला र त्यसपछिको भारत-पाकिस्तान तनावको असर श्रीलंकामा भएको यो खेलमा पनि प्रस्टै देखियो। भारतीय टोलीले एकपक्षीय खेलमा पाकिस्तानलाई ८८ रनले पराजित गर्यो। योसँगै एकदिवसीय क्रिकेटमा भारत-पाकिस्तानबीचको नतिजा १२-० को कीर्तिमानी अवस्थामा पुगेको छ।
तर, खेलको नतिजाभन्दा बढी चर्चा खेलाडीहरूबीचको व्यवहारको भयो। यस पटक खेलपछि ती तस्बिरहरू देखिएनन्, जुन कुनै समय इन्टरनेटमा भाइरल भएका थिए र जसलाई मानिसहरूले मित्रता र प्रेमको उदाहरणका रूपमा प्रस्तुत गर्थे।
प्रेमको प्रतीक बनेको त्यो तस्बिर
सन् २०२२ को एकदिवसीय विश्वकपको समयमा पाकिस्तानी कप्तान बिस्माह मारुफकी ६ महिनाकी छोरी फातिमा पनि मैदानमा थिइन्। खेल सकिनेबित्तिकै भारतीय क्रिकेटरहरूले आफूलाई रोक्न सकेनन् र फातिमालाई काखमा लिएर खेलाउन पुगे।
स्मृति मन्धाना, हरमनप्रीत कौर र शेफाली वर्माले फातिमालाई मायाले बोकेका थिए। भारतीय टोलीका सबै खेलाडीले फातिमासँग सेल्फी लिए र पाकिस्तान क्रिकेट बोर्डले ती तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्यो, जुन विश्वभर भाइरल भयो।
स्मृति मन्धानाले फातिमाको तस्बिर आफ्नो इन्स्टाग्राम स्टोरीमा राख्दै बिस्माहलाई आफ्नो प्रेरणा बताएकी थिइन्।
उनले लेखेकी थिइन्, ‘आमा बनेको ६ महिनामै मैदानमा फर्किएर अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु साँच्चै प्रेरणादायी छ। बिस्माह मारुफ विश्वभरका महिला खेलाडीका लागि उदाहरण हुन्। बेबी फातिमालाई सारा भारतको तर्फबाट माया।’
पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरले पनि ६ मार्च २०२२ मा उक्त तस्बिरको प्रशंसा गर्दै लेखेका थिए, ‘कति सुन्दर क्षण! क्रिकेट मैदानभित्र सिमाना हुन्छ, तर मैदान बाहिर यसले सबै सीमाहरू तोडिदिन्छ। खेलले जोड्छ।’
त्यतिबेला निदा डारले पनि यही प्रेमको कुरा गरेकी थिइन्।
‘हामी भारतीय टोलीसँग कमै खेल्छौं, तर जब-जब भेट्छौं, हाम्रो कुराकानी राम्रो हुन्छ,’ उनले भनेकी थिइन्, ‘हाम्रो सम्बन्ध राम्रो छ र भविष्यमा पनि यसलाई कायम राख्ने प्रयास गर्नेछौं।’
यसपटक शुरूदेखि नै थियो चिसोपनको अनुमान
यस पटकको खेलअघि नै मिडिया रिपोर्टहरूमा एसिया कपमा जस्तै महिला विश्वकपमा पनि दुई देशका खेलाडीहरूले हात मिलाउने छैनन् भन्ने अड्कलबाजी गरिएको थियो।
खेलअघिको पत्रकार सम्मेलनमा भारतीय टोलीका बलिङ प्रशिक्षक आविष्कार साल्वीलाई एक पाकिस्तानी पत्रकारले सोधे, ‘के एसिया कपबाट शुरू भएको विवाद यहाँ पनि जारी रहन्छ?’
तर, त्यहाँ उपस्थित मिडिया म्यानेजरले हस्तक्षेप गर्दै भने, ‘हामी यो प्रश्न लिँदैनौं।’
त्यस्तै, पाकिस्तानकी कप्तान फातिमा सनाको पत्रकार सम्मेलनअघि नै ‘राजनीति र हात नमिलाउने विषयमा कुनै प्रश्न नसोध्न’ भनिएको थियो। यद्यपि, सनालाई सोधियो, ‘पछिल्लो तनावको बीचमा पहिलेको जस्तो मित्रतालाई मिस गर्नुहुनेछ?’
फातिमा सनाले हाँस्दै जवाफ दिइन्, ‘पक्कै पनि। तर हाम्रो मुख्य लक्ष्य खेल्नु हो र हाम्रो ध्यान त्यसमै केन्द्रित हुनेछ। हामी अरू टोलीसँग पनि राम्रो सम्बन्ध बनाउने प्रयास गर्नेछौँ। पहिले बिस्माहकी छोरीले हामी सबैलाई एकै ठाउँमा ल्याएकी थिइन् र हामीले निकै रमाइलो गरेका थियौँ। एक खेलाडीका रूपमा हामी यस्तो वातावरण मन पराउँछौँ।’
पुरुष क्रिकेटबाट सरेको रोग
पहलगाम हमलापछि पुरुष क्रिकेटको एसिया कपमा दुई टोलीबीच एक अलग किसिमको तिक्तता देखियो। हात नमिलाउनेबाट शुरू भएको विवाद एसियाली क्रिकेट काउन्सिलका अध्यक्ष र पाकिस्तानी मन्त्री मोहसिन नकवीबाट ट्रफी नलिनेसम्म पुग्यो।
त्यही चिसोपनको असर अहिले महिला क्रिकेटमा पनि सरेको छ। यस पटकको खेलमा टसका क्रममा भारतीय कप्तान हरमनप्रीत कौर र पाकिस्तानी कप्तान फातिमा सनाले एकअर्कालाई हेरेनन्।
खेल सकिएपछि पनि दुवै टोलीका खेलाडीहरूले न हात मिलाए, न त एकअर्काको नजिक गएर कुराकानी र मित्रताको सिलसिलालाई निरन्तरता दिने प्रयास गरे।
कुनै समय झुलन गोस्वामीबाट प्रेरणा लिएर क्रिकेटमा लागेकी कायनात इम्तियाज र विराट कोहलीको शतकको खुलेर प्रशंसा गर्ने पाकिस्तानी खेलाडीहरूको पुस्ताले बनाएको मित्रताको डोरी आज राजनीतिक तनावका कारण कमजोर बन्दै गएको छ।
खेलले जोड्छ भन्ने भनाइ भारत-पाकिस्तान क्रिकेटमा गलत साबित भएको छ। यसले दुई देशबीचको सम्बन्ध र त्यहाँका मानिसहरूबीच सम्बन्ध सुधार्नभन्दा पनि तिक्ततालाई प्रसय दिइरहेको देखिन्छ।
असोज २०, २०८२ सोमबार ०९:५२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।