भारतसँगको हार र रनआउट विवादबारे बोलिन् पाकिस्तानी क्रिकेटर डायना बेग

एजेन्सी : आईसीसी महिला विश्वकपमा भारतसँगको हारपछि पाकिस्तानी खेलाडी डायना बेगले पत्रकार सम्मेलनमा मुनिबा अलीको विवादास्पद रनआउट र भारतसँगको हारसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिएकी छन्।
उनले ओपनर मुनिबा अलीको रनआउट विवादको विषय अब 'टुङ्गिइसकेको' (सेटल) बताइन्।
पत्रकार सम्मेलनमा डायनालाई प्रश्न सोधिएको थियो, ‘मुनिबाको रनआउटमा कप्तानले पनि आपत्ति जनाएका थिए, यसबारे व्यवस्थापनले कुनै निर्णय गर्यो?’
यसको जवाफमा डायनाले भनिन्, ‘मुनिबाको रनआउटको विषय पहिले नै टुङ्गिइसकेको छ। म यसबारे कुनै कुरा गर्न चाहन्नँ। जे परिस्थिति थियो वा जे भयो, त्यो सायद अब समाधान भइसकेको छ।’
त्यसैगरी, डायनालाई भारतसँगको निरन्तर हारबारे पनि प्रश्न सोधिएको थियो।
एक पत्रकारले सोधे, ‘पहिले एसिया कपमा पुरुष टोली भारतसँग हार्यो र आज महिला टोली पनि पराजित भयो, पाकिस्तानी जनताका लागि भाग्य कहिले बदलिन्छ?’
यस प्रश्नमा डायनाले भनिन्, ‘हेर्नुहोस्, हामी प्रयास गर्छौं। हामीले मैदानभित्र र बाहिर जस्तो प्रदर्शन गर्छौं, यदि त्यसलाई अझै लामो समयसम्म कायम राख्न सक्यौँ भने मलाई लाग्छ हामी खेल जित्नेछौँ।’
आईसीसी महिला विश्वकपअन्तर्गत आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ८८ रनले पराजित गरेको थियो।
असोज २०, २०८२ सोमबार ०८:१५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।