भारतको नयाँ नियमले रोकिएको निर्यात खुल्यो, उद्योगीलाई राहत

भारतको नयाँ नियमले रोकिएको निर्यात खुल्यो, उद्योगीलाई राहत

बुटवल : भारतले स्टिलजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा गुणस्तरको चिह्न अनिवार्य गरेपछि तीन महिनादेखि ठप्प रहेको स्टिलका भाँडाकुँडाको निर्यात अहिले पुनः शुरू भएको छ।

भारतले कच्चा पदार्थमा समेत ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) अनिवार्य गरेपछि भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) का उद्योगहरूको निर्यात तीन महिनायता प्रभावित भएको थियो। तर, चीनबाट कच्चा पदार्थ आयात गरेर स्टिलका भाँडाकुँडा उत्पादन गर्न थालेपछि भारतमा निर्यात शुरू भएको हो।

भैरहवास्थित सेजमा विस्तार ग्लोबल र पञ्चकन्या गरी दुई स्टिल कम्पनीले भाँडाकुँडा उत्पादन गर्दै आएका छन्। ग्लोबलले स्टिलका भाँडाबर्तन र पञ्चकन्याले स्टिलको पानी ट्यांकी उत्पादन गर्छ।

सेजमा रहेको विस्तार ग्लोबलका लेखा अधिकृत अरविन्द त्रिपाठीले रोकिएको निर्यात असोजदेखि शुरू भएको बताए। ‘चीनबाट कच्चा पदार्थ आयात गरेपछि भारतमा निर्यात गर्न शुरू गरिएको छ’, उनले भने।

चीनबाट आयात गरिएको कच्चा पदार्थमा भ्यालु एड गरेर उद्योग वाणिज्य संघबाट प्रमाणपत्र लिई निर्यात शुरू गरिएको छ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भारतले नयाँ नियम लागू गरेर निर्यातमा अवरोध सिर्जना गर्न खोजे पनि चीनबाट कच्चा पदार्थ आयात गरेर उद्योगहरूले निर्यात शुरू गरेको बताए। साथै, उनले निर्यात सहजताका लागि संघले निरन्तर पहल गरेपछि सफलता मिलेको जानकारी दिए।

‘भारतले यसरी निर्यात रोक्नु अन्तर्राष्ट्रिय मान्यताविपरीत थियो। नेपालमा उत्पादन भइरहेका अन्य वस्तुमा यस्तो प्रावधान थिएन,’ उनले भने, ‘कच्चा पदार्थ आयात रोकिएपछि उद्योग स्वतः बन्द हुने अवस्थामा पुगेका थिए। तर, अहिले निर्यात शुरू भएपछि उद्योगीहरू हर्षित भएका छन्।’

विस्तार ग्लोबल उद्योगले आफ्नो उत्पादनको ९० प्रतिशत हिस्सा भारत निर्यात गर्दै आएको छ। त्यस्तै, पञ्चकन्याले २६ प्रतिशत उत्पादन भारतमा निर्यात गर्छ। विस्तार ग्लोबलले ६ वर्षदेखि भारतमा सामान निर्यात गर्दै आएको छ। उद्योगले मासिक ४०० टन भान्सामा प्रयोग हुने भाँडाकुँडा उत्पादन गर्दै आएको छ।

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले पनि भारत सरकारले नीति परिवर्तन गरेर कच्चा पदार्थमा बीआईएस अनिवार्य गरेपछि निर्यात ठप्प भएकोमा हाल चीनबाट कच्चा पदार्थ आयात गरी पुनः निर्यात शुरू गरिएको बताए।

यसअघि उत्पादित वस्तुमा मात्र ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस)’ अनिवार्य थियो भने अब कच्चा पदार्थमा पनि खोजिएको छ।

भैरहवा सेजका सह-निर्देशक मेकानिकल इन्जिनियर सवुत डुम्रेले चीनबाट हुने कच्चा पदार्थको आयात रोक्नकै लागि भारतले बीआईएस खोजेको बताए।

‘भारतीयहरूकै करोडौँ लगानीमा ६ वर्षअघि स्थापना भएको उद्योगको ९० प्रतिशत उत्पादन भारतमै जान्थ्यो र त्यहाँबाट अरू मुलुकमा पनि जान्थ्यो,’ उनले भने, ‘तर त्यही उद्योगको उत्पादनलाई रोक्नु भनेको चिनियाँ कच्चा पदार्थमा रोक लगाउने भारतको मनसाय हो।’

भैरहवा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा मुलुकबाट निर्यात भएका प्रमुख १० वस्तुमा फलाम वा स्टिलका भाँडाकुँडाको योगदान छैटौँ नम्बरमा छ। गत वर्ष ७३ करोड ६२ लाख ५८ हजार रुपैयाँ बराबरको भाँडाकुँडा निर्यात भएको थियो।

भैरहवा भन्सार प्रमुख रामप्रसाद रेग्मीले असोज महिनादेखि भाँडा, वर्तन र स्टिल ट्यांकीको निर्यात पुनः शुरू भएको बताए।

असोज २०, २०८२ सोमबार ०७:४४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।