जति पक्राउ परे पनि नसुध्रने सानुभाई, बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे कुनै समय

जति पक्राउ परे पनि नसुध्रने सानुभाई, बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे कुनै समय

काठमाडौं : काठमाडौंको अपराध नगरीमा सानुभाइको रूपमा परिचित युवराज गुरुङ पुन पक्राउ परेका छन्। पटके अभियुक्तका रूपमा परिचित गुरुङ धम्क्याएको आरोपमा  टोखामा रहेको घरबाट पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

सानुभाइले धम्की दिएको आरोपमा उजुरीको आधारमा पक्राउ गरेको भनिए पनि विस्तृत विवरण भने खुलाइएको छैन।

नुवाकोटका  सानुभाइ काठमाडौंको  गुण्डागर्दीमा सक्रिय छन्। उनी यही आरोपमा पटक पटक पक्राउ पर्ने र अदालतबाट धरौटीमा छुट्दै आएका छन्।

उनी यसअघि साउन १५ मा ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका थिए।२०८० माघ ६ मा ठमेलको एक क्लबको पार्किङमा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा समातिएका थिए

२०८० असारमा कुटपिट गरेको घटनामा उनी पक्राउ परेका थिए।

सङ्गठित अपराधमा प्रभाव बढाउँदै सानुभाई

नुवाकोटको ककनी गाउँपालिका–५ घर भए पनि उनी टोखास्थित सूर्यदर्शन हाइटमा बस्छन्। कुख्यात गुन्डा नाइके कुमार घेैटेका सहयोगी रहेका उनी घेैटेको इन्काउन्टरपछि इन्काउन्टरबाट जोगिन बुलेटप्रुफ ज्याकेटसहित हिँडिरहेको बेलामा समातिएका थिए। २०७२ मा उनी नुवाकोटमा हतियारसहित समातिँदा उनको साथबाट बुलेटप्रुफ ज्याकेट फेला परेको थियो।

घैँटेको इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीसँग बदला लिन उनले भारतबाट भाडामा अपराधी नेपाल ल्याएको खुलेको थियो।

२०८० असार १५ मा ठमेलस्थित क्लब ओम्नियामा आफूलाई ‘सम्मान भएन’ भनेर क्लब सञ्चालक राजेन्द्र गुरुङलाई आक्रमण गरेको आरोपमा २०८० असार ३१ मा पक्राउ परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख दानबहादुर कार्कीले उनलाई ठमेलमा हतकडी लगाएर सडकमा हिँडाउँदै परिसरको कार्यालयसम्म ल्याउन लगाएका थिए।

असोज १९, २०८२ आइतबार २३:०६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।