विपद्बारे आठ बुँदे निर्णय : मृतक परिवारलाई दुई लाख राहत, घाइतेको निःशुल्क उपचारको व्यवस्था

विपद्बारे आठ बुँदे निर्णय : मृतक परिवारलाई दुई लाख राहत, घाइतेको निःशुल्क उपचारको व्यवस्था

काठमाडौँ : सरकारले निरन्तर वर्षाका कारण ज्यान गुमाएका परिवारलाई तत्काल दुई लाख राहत दिने भएको छ। घााइतेेको नि: शुल्क उपचार गर्ने निर्णय समेत गरेको छ।

देशका विभिन्न भागमा अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानजस्ता मनसुनजन्य विपद्‌ले जनजीवन प्रभावित बनेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बैठक बसेको थियो।

बैठकमा हालसम्मको विपद्‌को अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गर्दै राहत, उद्धार र पुनर्स्थापनाका कार्यहरूलाई प्रभावकारी बनाउने उपायहरूमा छलफल गरिएको थियो।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा बैठकले मनसुनजन्य विपद्‌बाट प्रभावित जनताको राहत, उद्धार र पुनर्स्थापना कार्यलाई सुदृढ बनाउन आठ बुँदे निर्णय गरेको उल्लेख छ।

निर्णयमा स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डअनुसार राहत रकम उपलब्ध गराउने, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने, खोज, उद्धार, राहत र पुनर्स्थापना कार्यलाई निरन्तरता दिने, प्रारम्भिक क्षति, प्रभावित जनसङ्ख्या तथा क्षेत्रको विवरण शीघ्र सङ्कलन गरी प्राधिकरणमा पठाउने निर्णय गर्यो।

 यसैगरी, जोखिमयुक्त सडकहरूमा रातिको समयमा सवारी सञ्चालन नगर्न निर्देशन दिने, अवरुद्ध सडकहरू तात्कालिक रूपमा मर्मत गरी सञ्चालनमा ल्याउन सडक विभागलाई पत्राचार गर्ने, अत्यावश्यक सेवा तथा यात्रुवाहक सवारीको आवागमन स्थानीय प्रशासनबीच समन्वय गरेर सञ्चालन गर्ने र खानेपानी, बिजुली तथा सञ्चारजस्ता सेवाहरू छिटो पुनः सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने उल्लेख छ।

बैठकले प्रभावित जिल्लाका स्थानीय तह र सरोकारवाला निकायहरूलाई राहत, स्थानान्तरण र पुनर्स्थापना कार्य शीघ्र सम्पन्न गर्न अनुरोध गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई अस्थायी रूपमा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

बैठकले सडक विभाग, खानेपानी, विद्युत् र सञ्चार सेवा प्रदायक संस्थाहरूलाई अवरुद्ध सेवा तत्काल पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। साथै, विभिन्न सरकारी निकायहरूबीच समन्वय सुदृढ गर्दै उद्धार कार्यलाई निरन्तरता दिने निर्णय पनि गरिएको छ।

साथै प्राधिकरणले सर्वसाधारणलाई आगामी केही दिनसम्म पनि सतर्क रहन र जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा नबस्न आग्रह गरेको छ। यसैगरी, स्थानीय प्रशासनका निर्देशनहरू पालना गर्न र आवश्यक परेमा तत्काल सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

असोज १९, २०८२ आइतबार २२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।