उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार

उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार

उदयपुर : उदयपुरको बेलका नगरपालिका–४ लालबजार नजिक अमन खोलाले हायस गाडी बगाउँदा एक महिलाको मृत्यु भएको छ भने २१ जनाको सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति करिब १२ बजे मोरङको विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख १६२८ नम्बरको हायस गाडी सिन्धुलीको भिमानबाट फर्कने क्रममा अमन खोलाको कजवेमा आएको बाढीले बगाएको हो।

गाडीमा सवार २२ जनामध्ये इलाका प्रहरी कार्यालय बेलका र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले २१ जनाको जीवितै उद्धार गरेको थियो भने एकजना बेपत्ता भएकी थिइन्। खोजीका क्रममा आज बिहान बगाएको स्थानभन्दा डेढ किलोमिटर तल गिदेरी खोला नजिकै एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

मृतक मोरङको सुन्दरहरैचा नगरपालिका निवासी ४० वर्षीया मञ्जु अधिकारी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।

असोज १९, २०८२ आइतबार १२:४१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।