त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान नियमित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान नियमित

काठमाडौं : अविरल वर्षा र खराब मौसमका कारण स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान आजदेखि पुनः नियमित भएका छन्।

शनिबार दिउँसोदेखि प्रतिकूल मौसमका कारण रोकिएका सबै आन्तरिक उडान र अवतरण आज बिहानदेखि सामान्य मौसम सुधारसँगै सुचारु भएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए।

उनले भने , “आज बिहानदेखि मौसममा सुधार आएको छ, अहिले हाम्रा सबै उडान र अवतरणहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।”

मौसम खुल्दै जाँदा आन्तरिकतर्फ यात्रुहरूको चाप पनि बढेको विमानस्थल स्रोतले जनाएको छ। शनिबार उडान स्थगन भएपछि रोकिएका यात्रुहरू अहिले आफ्ना गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्।

पाण्डेका अनुसार आज बिहानै त्रिभुवन विमानस्थलबाट नेपालगञ्ज र भद्रपुरतर्फका उडान सम्पन्न भइसकेका छन्। पोखरा र सुर्खेततर्फ पनि मौसम अनुकूल रहेकाले त्यहाँका उडानहरू सञ्चालन भइरहेको छ।

विमानस्थलको अन्तर्राष्ट्रियतर्फका सबै उडान र अवतरण भने शनिबार बेलुकीदेखि नै नियमित रूपमा सञ्चालन भइरहेका छन्।

असोज १९, २०८२ आइतबार ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।