देशभरका २० राजमार्ग ठप्प, ६ राजमार्ग एकतर्फी, ६ ठाउँमा सवारीसाधन होल्ड

काठमाडौं : लगातारको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक भासिने, पहिरो खस्ने र बाढी आउने घटनाहरू बढेका छन्। यससँगै देशका प्रमुख राजमार्ग तथा लोकमार्गहरू विभिन्न स्थानमा आंशिक वा पूर्ण रूपमा अवरुद्ध भएका छन्।
गृह मन्त्रालयका अनुसार काठमाडौं, चितवन, काभ्रे, धादिङ, रसुवा, संखुवासभा, सिन्धुली, धनकुटा, मकवानपुर, ओखलढुंगा लगायतका जिल्लामा सडक यातायात प्रभावित भएको छ।
काठमाडौं उपत्यकाबाट बाहिरिने नागढुंगा–गोदाम–टखेल सडकखण्ड अविरल वर्षाका कारण मिति २०८२ असोज १८ गते बिहान ७ बजेदेखि दुबै तर्फका सवारीसाधन रोकिएका छन्। त्यस्तै, काभ्रेको बीपी र अरनिको राजमार्ग पनि धुलिखेलदेखि दोलालघाट हुँदै सिन्धुपाल्चोक सिमानासम्म बिहान ८ः३० बजेदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ।
रसुवामा बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल क्षतिग्रस्त बनाएको छ। गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा आएको बाढीले पुलमा क्षति पुर्याएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। त्यसैगरी, पासाङ ल्हामु सडकखण्डका घट्टेखोला, बालुवाखानी र तातोपानी क्षेत्रमा सुख्खा पहिरो र ढुङ्गा झरीका कारण बाटो बन्द भएको छ।
संखुवासभाको भोटखोला गाउँपालिका–४ स्थित बरुणखोलामा बाढीले कोशी राजमार्गको ह्युम पाइप बगाएको हुँदा खाँदबारी–थुमसुर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सो सडक वर्षायामभर सञ्चालन नहुने जनाइएको छ। मकालु गाउँपालिका–३ एकुवामा पनि पहिरोका कारण सोही राजमार्ग पूर्ण रूपमा बन्द छ।
काभ्रेको बीपी राजमार्ग १६ असोजदेखि २१ असोजसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहनेछ। त्यस्तै, भोटकोशी गाउँपालिका–४ चारकिलोमा अरनिको राजमार्ग भासिएर अवरुद्ध भएको छ। केही समय साना सवारी सञ्चालन भए पनि असोज १८ गते पुनः सडक भासिएर १५ मिटर लामो भागमा क्षति पुग्दा बाटो पुनः पूर्ण रूपमा बन्द भएको हो।
ओखलढुंगाको सिद्धिचरण लोकमार्ग भँडारे खोलामा बाढी आएपछि करिब १० मिटर सडक बगाएर पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला र सिस्नेरी बजार नजिक पनि पहिरो र पानीको बहाव बढ्दा फाखेल–हुमाने–काठमाडौं सडकखण्ड र कुलेखानी–दक्षिणकाली सडक दुबै तर्फ बन्द भएका छन्।
चितवनमा नारायणगढ–मुग्लिन सडकखण्डमा इच्छाकामना गाउँपालिका–५ र ६ का तुईनखोला र नाम्चेखोला क्षेत्रमा पहिरो खस्दा बाटो एकतर्फी अवरुद्ध भएको छ भने सवारीसाधनलाई विभिन्न ठाउँमा ‘होल्डिङ सेन्टर’ मा राखिएको छ।
धादिङको पृथ्वी लोकमार्गमा गजुरी गाउँपालिकाको घाटबेसी, जहरेखेत र बेनिघाट–रोराङ क्षेत्रका विभिन्न ठाउँमा पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, धनकुटा र सिन्धुलीका विभिन्न भागमा मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग पनि पहिरो र सडक भासिँदा दुईतर्फी अवरुद्ध भएका छन्।
धनकुटाको साँगुरीगढी गाउँपालिका क्षेत्रका चनौटे, घण्टे र सिमसुवा स्थानमा पहिरो जाँदा कोशी लोकमार्ग पनि तीन ठाउँमा अवरुद्ध भएको छ।
प्रहरी र स्थानीय प्रशासनका अनुसार अविरल वर्षा अझै जारी रहेकाले पहिरो खस्ने जोखिम उच्च छ। सबै यात्रु र सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।
प्रहरीका अनुसार मौसम सुधारसँगै सडक पन्छाउने काम सुरु भएको छ। जोखिमपूर्ण सडक खण्डहरूमा सवारी सञ्चालन नगर्न सुझाव दिइएको छ।
असोज १९, २०८२ आइतबार ११:१३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।