मुख्य राजमार्गहरूमा आवागमन ठप्प, पोखरासहित पश्चिम जाने सडक खुलाउने तयारी

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरूमा बन्द रहेको यातायात खुलेको छैन। काभ्रे, झापा, मकवानपुर लगायतका जिल्लामा सडक भासिने, बाढी र पहिरोका घटनाले जनजीवन प्रभावित बनेको छ।
धुलिखेल नगरपालिका–११ पात्लेखेतमा बीपी राजमार्ग भासिएको छ। पात्लेखेत खण्डमा सडक भासिएपछि सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ। सडक भासिएसँगै भकुन्डे–धुलिखेल सडक सञ्जाल पनि विच्छेद भएको छ।
बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
झापामा निरन्तरको वर्षासँगै आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–६ क्षेत्रका सडक बगाएको छ भने सुकुना खोलामा आएको बाढीले शिवसत्ताक्षी नगरपालिका–१० खण्डमा आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
शिवसत्ताक्षी नगरपालिका र झापा गाउँपालिकामा मात्र ४ सयभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उद्धारका लागि स्थानीय प्रशासन, प्रहरी र सशस्त्र प्रहरी परिचालित छन्।
काठमाडौं–हेटौँडा मार्गमा तीनवटा बाटो बन्द
मकवानपुरमा पहिरोका कारण काठमाडौं–हेटौँडा जोड्ने चारवटा बाटोमध्ये हाल फर्पिङ–फाखेल–कुलेखानी मार्ग मात्रै खुला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। त्यो पनि अहिले एकतर्फी मात्र सञ्चालन भइरहेको छ।
त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–पालुङ–हेटौँडा खण्डमा पहिरो खसेकाले बाटो बन्द छ। पहिरो हटाउने काम भइरहेको भए पनि भारी वर्षाका कारण ढिलाइ भइरहेको प्रहरीले बताएको छ।
त्यसैगरी सातदोबाटो–ठिंगन हुँदै हेटौँडा निस्किने कान्ति लोकपथ र पालुङ नजिकैको सिस्नेरी बजारको बाटो पनि पूर्ण रूपमा बन्द छ।
कुलेखानी ड्यामबारेको हल्ला असत्य
सामाजिक सञ्जालमा “कुलेखानी ड्याम खोल्दा सडक भत्कियो” भन्ने हल्ला फैलिएको थियो। तर मकवानपुर प्रहरीले उक्त हल्ला असत्य भएको स्पष्ट पारेको छ। प्रहरीका अनुसार यसपटक वर्षाका बेला कुलेखानी ड्याम खोल्नै परेको छैन र त्यसको कुनै प्रत्यक्ष असर सडकमा परेको छैन।
पश्चिम जाने सडक सञ्चालनको तयारी
पानी रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्गहरू खोल्ने तयारी पनि थालेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अनुसार बीपी राजमार्ग बाहेक अन्य मुख्य राजमार्गहरू जस्तै काठमाडौं-नारायणगढ र काठमाडौं-पोखरा सडक खण्ड-खोल्ने तयारी भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागले पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने अवस्था आएको जानकारी दिएपछि मन्त्रालयले सम्बन्धित निकायलाई तयारी गर्न निर्देशन दिएको छ। केही स्थानमा साना पहिरो मात्र रहेका छन्, ती पन्छाएपछि बाटो खुला हुनेछ।
असोज १९, २०८२ आइतबार ११:०६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।