कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, तटीय बासिन्दालाई सतर्क रहन आग्रह

धरान : लगातारको वर्षाले सप्तकोशी नदीको जलवहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार शनिबार बिहान ८ः१५ बजे गरिएको मापनमा नदीको पानीको प्रवाह प्रति सेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेक पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको हो।
उनका अनुसार नदीमा जलसतह निरन्तर मापन भइरहेको छ र पानीको सतह लगातार बढ्दै गएको छ। बिहानको मापनका क्रममा जलवहाव ३ लाख ३५ हजार ६० क्युसेक पुगेपछि प्रारम्भिक रूपमा ५० ढोका खोलिएको थियो।
प्रमुख जिल्ला अधिकारी मिश्रले भने, “पानीको सतह उच्च भएपछि कोशी ब्यारेजमा जोखिमको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ र रातो झण्डा फहराइएको छ।” सप्तकोशी जलमापन कन्ट्रोल रुमले पनि जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको पुष्टि गरेको छ।
बाढीको जोखिम बढेसँगै उदयपुर र सुनसरीका तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन्। नदी नजिकका बासिन्दालाई सुरक्षित स्थानमा सर्न र सावधानीपूर्वक रहन प्रशासनले अनुरोध गरेको छ।
असोज १९, २०८२ आइतबार १०:१६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।