अविरल वर्षाका कारण रोकिएका अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ जाने अनुमति

अविरल वर्षाका कारण रोकिएका अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ जाने अनुमति

चितवन : अविरल वर्षाका कारण रोकिएका अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ जान अनुमति दिइएको छ। पहिरोको जोखिम र सडकमा ढुङ्गा झरेपछि शनिबार साँझदेखि बन्द गरिएको नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्गको चितवन खण्डमा सावधानीपूर्वक सवारी सञ्चालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडकका विभिन्न स्थानमा खसेका ढुङ्गा र साना पहिरो पन्छाएर अत्यावश्यक सेवाका सवारीसाधनलाई आवागमनको अनुमति दिइएको हो। तर लामो दूरीका ठूला सवारीसाधन भने अझै रोकिनेछन्।

उनका अनुसार शुक्रबार साँझदेखि लगातार वर्षा भइरहेकाले सडकमा पहिरो खस्ने जोखिम अझै उच्च छ। त्यसैले काठमाडौँ-चितवन मार्गमा आवागमन गर्ने सवारीसाधनलाई विभिन्न स्थानमा रोकिएको छ। ती स्थानहरूमा इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस टर्मिनल, गोन्द्राङ, पूर्वी चितवनको शान्तिचोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा र लोथर बजार लोथर समावेश छन्।

धादिङ र तनहुँलगायतका अन्य जिल्लामा पनि पहिरो र ढुङ्गा खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक पूर्ण रूपमा सुरक्षित नहुँदासम्म र मौसम सामान्य नहुन्जेलसम्म ‘होल्डिङ सेन्टर’मा रहेका सवारीसाधनलाई त्यहीँ बस्न आग्रह गरिएको छ। अवस्था अनुकूल भएपछि मात्र ती सवारीसाधनलाई गन्तव्यतर्फ पठाइने प्रहरीको भनाइ छ।

असोज १९, २०८२ आइतबार ०९:५२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।