सप्तकोशीमा पानीको सतह उच्च, कोशी ब्यारेजका ५० वटा ढोका खोलियो

धरान : अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलवहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार शनिबार बिहान ८ः१५ बजे गरिएको मापनमा नदीको पानीको वहाव प्रति सेकेन्ड ३ लाख ३५ हजार क्युसेक पुगेपछि ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएको हो।
आज बिहान ७ः०० बजे मात्र पानीको वहाव दुई लाख ७१ हजार ३१० क्युसेक रहेको र सो समयमा ३९ ढोका खोलिएको उनले बताए। शनिबार राति ८ः०० बजे पानीको प्रवाह १ लाख ९३ हजार ६० क्युसेक मापन हुँदा १५ ढोका खोलिएको थियो।
गत भदौ १७ गते पनि सप्तकोशीमा पानीको वहाव उच्च हुँदा ३८ ढोका खोलिएको थियो। त्यसयता नदीको सतह घट्दै गएको भए पनि शुक्रबारदेखि निरन्तर वर्षा भइरहेकाले फेरि जलवहाव बढेको प्रहरीले जनाएको छ।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधान छ। अहिले ब्यारेजमा तीनवटा रातो बत्ती बलिरहेको कन्ट्रोल रुमले जनाएको छ।
असोज १९, २०८२ आइतबार ०९:३६:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।