पहिरोले पश्चिम म्याग्दीको यातायात अवरुद्ध, वैकल्पिक बेलिब्रिज निर्माणको तयारी

म्याग्दी : म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा पहिरो खसेपछि बेनी–दरवाङ सडकखण्डमा यातायात प्रभावित भएको छ। उक्त सडकले मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने मुख्य मार्गका रूपमा सेवा दिँदै आएको छ।
सन् २०६० अघि निर्माण भएको यो सडकमा हरेक वर्षाको समयमा पहिरो खस्ने क्रम दोहोरिँदै आएको छ। करिब २४ किलोमिटर लामो यो सडकखण्डमा पहिरो खस्दा सिधा सवारी सेवा बन्द हुने गरेको स्थानीयहरू बताउँछन्। यो मार्ग बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाका लागि पनि अत्यावश्यक मार्ग हो।
स्थानीयवासी चक्रलाल पाण्डे (राजु)का अनुसार सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्याउन, दूध, तरकारी र फलफूल बजार लैजान, र दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा समस्या आएको छ। उनले भने, “साँघुरो सडकमा सवारी गुड्दा माथिबाट पहिरो खसेर दुर्घटनाको जोखिम रहन्छ, यात्रा गर्न निकै डर लाग्छ।”
फापरखेतको पहिरोले म्याग्दी नदीमा निर्माणाधीन तीनवटा जलविद्युत् आयोजना, राहुघाट सबस्टेशन, सडक, भवन, खानेपानी र सिँचाइलगायतका विकास आयोजनामा पनि असर पुगेको छ। सडकमुनि म्याग्दी नदी र माथि ठूलो पहिरो भएकाले जोखिम अझै बढेको छ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था मिलाएको जनाएको छ। तर, दीर्घकालीन समाधानका लागि वैकल्पिक मार्गको तयारी सुरु गरिएको छ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार मङ्गला गाउँपालिका–३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी बेलिब्रिज निर्माणको योजना अघि सारिएको छ। “फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्न यस आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट छुट्याएको छ,” उनले बताए।
उनका अनुसार दुई वर्षअघि प्रदेश सरकारले सङ्घीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय गरे पनि राजनीतिक अस्थिरताका कारण त्यसको कार्यान्वयन हुन सकेको थिएन। अहिले जगेडामा रहेको बेलिब्रिज ल्याएर जडान गर्न पहल भइरहेको उनले बताए।
असोज १९, २०८२ आइतबार ०७:५३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।