पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो, सवारीसाधन एकतर्फी रुपमा सञ्चालन

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो, सवारीसाधन एकतर्फी रुपमा सञ्चालन

तनहुँ : लगातारको वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित सडक भासिएको छ।

शनिबार बिहानदेखि परेको वर्षाले सडकको केही भाग भासिएपछि हाल आँबुखैरेनी-मुग्लिन खण्डमा सवारी आवतजावत एकतर्फी रुपमा सञ्चालन गरिएको छ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार अपरान्ह करिब ४ बजे सडक भासिएको हो। घटनापछि दुवै तर्फ प्रहरी परिचालन गरी सवारी आवतजावतलाई सुरक्षित रूपमा एकतर्फी सञ्चालन गरिएको उनले बताए। रातिको समयमा जोखिम बढ्ने भएकाले उक्त मार्ग प्रयोग नगर्न यात्रु र सवारी चालकहरूलाई उनले आग्रह गरेका छन्।

यसअघि विसं २०७९ जेठ २७ गते पनि सोही स्थानमा सडक भासिँदा भित्ता काटेर मस्र्याङ्दी नदीतर्फ पर्खाल निर्माण गरिएको थियो। यद्यपि, पुनः त्यही ठाउँमा सडक भासिएको प्रहरीले जनाएको छ।

असोज १९, २०८२ आइतबार ०७:१२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।