भारी वर्षाले देशभरको सडक सञ्जाल टुट्यो, यात्रुहरू बीच बाटोमै अड्किए

भारी वर्षाले देशभरको सडक सञ्जाल टुट्यो, यात्रुहरू बीच बाटोमै अड्किए

काठमाडौं : शुक्रवार रातिदेखि सुरु भएको अविरल वर्षाले शनिवार देशभरको जनजीवन अस्तव्यस्त बनायो। लगातारको वर्षाका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध बने भने यातायात सेवा ठप्प हुँदा यात्रुहरू बाटोमै अलपत्र परे।

दशैं मनाउन घर गएका र अब कामकाजका लागि काठमाडौं फर्किन लागेका हजारौँ नागरिक विभिन्न ठाउँमा अड्किएका छन्।

सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि बाटोमै परेकाहरूको चिन्ता केही घटेको छ।

गृह मन्त्रालयका अनुसार, बाढी–पहिरो र सडक कटानका घटना बढे पनि अहिलेसम्म ठुलो मानवीय क्षति भने भएको छैन।

राजमार्गहरू अवरुद्ध, जनजीवन प्रभावित

वर्षाका कारण उपत्यका प्रवेश गर्ने सबै मुख्य सडकहरू अहिले अवरुद्ध छन्। नारायणगढ–मुग्लिन सडकखण्डमा तुइन खोलामा ढुंगा खसिरहेको छ, जसका कारण यातायात रोकिएको छ।

बीपी राजमार्गमा पर्ने रोशी खोलाले ९ भन्दा बढी ठाउँमा सडक कटान गरेको छ। अरनिको, पृथ्वी, सिद्धिचरण, कुलेखानी र पासाङ ल्हामु सडकखण्ड पनि अवरुद्ध छन्।

गृह मन्त्रालयले राजमार्गमा अलपत्र परेका यात्रु र सवारी साधनलाई सुरक्षित स्थानमा पुर्याउने व्यवस्था मिलाइरहेको जनाएको छ। अलपत्र यात्रुलाई खाना र बासको व्यवस्था गर्न सरकारले स्थानीय सरकारलाई निर्देशन दिएको छ।

यात्रुका लागि खानाबासको व्यवस्था

वर्षाका कारण बीच बाटोमै अड्किएका यात्रुहरूलाई विभिन्न ठाउँका होटेल व्यवसायीहरूले निःशुल्क वा न्यून शुल्कमा खाना र बासको व्यवस्था गरेका छन्। काभ्रेको धुलिखेल, चितवन र कोशी राजमार्गका होटेलहरूमा यस्तो सहयोग कार्यक्रम सुरु गरिएको छ।

गृह मन्त्रालयले सबै स्थानीय प्रशासनलाई आपत्कालीन व्यवस्थापन र राहतका लागि निर्देशनसमेत दिएको छ।

त्यस अनुसार यात्रुलाई चितवनको होटेलमा ७५ प्रतिशतसम्म छुट दिइएको छ। स्थानीय प्रशासनले अलपत्र यात्रुलाई सामुदायिक भवन, स्कुलमा राख्ने प्रबन्ध गरेका छन्।

कहाँ–कहाँ दुर्घटना क्षति भयो

पाँचथरमा बोलेरो दुर्घटना : कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा बोलेरो जिप दुर्घटनामा ६ जनाको मृत्यु र ६ जना घाइते भएका छन्। घाइतेलाई अस्पताल पठाइएको छ।

भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनामध्ये ४ जनालाई रसुवामा बेरिङ खोल्साले बगाएको छ। बेपत्ता हुनेहरू संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ हुन्। प्रहरी खोजीमा खटिएको छ।

रौतहटमा कटहरिया नगरपालिका–२ मा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। त्यहाँ ३ सय मिलिमिटरभन्दा बढी वर्षा हुँदा बस्ती र कार्यालयहरू समेत डुबानमा परेका छन्।

सरकारको सक्रियता विपद् व्यवस्थापन

सरकारले बिहानैदेखि सेना, प्रहरी र स्थानीय निकायका कर्मचारी परिचालन गरेको छ। जल तथा मौसम विज्ञान विभाग, गृह मन्त्रालय र विपद् जोखिम न्यूनीकरण प्राधिकरणको समन्वयमा राहत र उद्धार कार्य चलिरहेको छ।

मोबाइल सन्देश, माइकिङ र स्थानीय सूचनामार्फत नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले देशवासीको नाममा भिडियो सन्देश जारी गरेर सरकारले विपद्मा परेका नागरिकका लागि सबै स्रोत परिचालन गरेको बताउँदै विपद्को समयमा आपतकालिन अवस्थाबाहेक यात्रा नगर्न आग्रह गरेकी छिन्।

गृह मन्त्रालयले परिपत्र गरेर जिल्ला प्रशासन प्रमुखलाई २४ घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएको छ। काठमाडौँसहित वर्षा प्रभावित जिल्लामा २० गतेसम्म सवारी भित्रिन र बाहिरिन नदिन निर्देशन दिइएको छ।

काठमाडौं महानगरपालिकाले बाढी प्रभावित क्षेत्रका स्थानीयका लागि सामुदायिक विद्यालयमा बस्ने प्रबन्ध गरेको छ।

हवाई उडान पनि प्रभावित

अविरल वर्षाका कारण आन्तरिक हवाई उडान पूर्ण रूपमा रोकिएका छन्। केही अन्तर्राष्ट्रिय उडानहरू पनि अन्य विमानस्थलमा डाइभर्ट गरिएका छन्। त्रिभुवन विमानस्थलले मौसम सामान्य नहुँदासम्म नयाँ उडान नखोल्ने जनाएको छ।

सडक मार्ग र हवाई मार्ग अवरुद्ध भए पनि अन्तर्राष्ट्रिय उडान जारी रहँदा दशैँ मनाउन नेपाल आएका, काठमाडौं उपत्यका बाहिर रहेका यात्रु विमानस्थलसम्म आउनसक्ने अवस्था छैन।

मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले २० जिल्ला अति प्रभावित र २० जिल्लालाई प्रभावित सूचीमा राखेर संकट अझै नटरेको जनाएको छ।

शनिवार राति र आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेशका पश्चिमी भागमा अति भारी वर्षा हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा रौतहट, पर्सा, बारामा २५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। यो “अति भारी वर्षा”को श्रेणीमा पर्छ। तराईको वीरगन्ज र आसपासका क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ।

पूर्वी नेपालतिर सर्दै वर्षा प्रणाली 

भारत र चीन दुवै देशको मौसम प्रणालीले आइतबारदेखि पूर्वी नेपालतर्फ वर्षा सर्ने देखाएका छन्। इलाम, झापा, सुनसरी, मोरङलगायतका जिल्लामा भोलिदेखि जोखिम बढ्ने सम्भावना छ।

मौसमविद्हरूले सो क्षेत्रमा पहिरो, बाढी र खहरेको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

असोज १८, २०८२ शनिबार २२:११:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।