अत्यावश्यक नभई सडकमा ननिस्किन र सवारी नचलाउन प्रधानमन्त्रीको अनुरोध

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले विपद्को समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने भन्दै अत्यावश्यक नभई यात्रा नगर्न आग्रह गरेकी छिन्।
शनिवार साँझ देशवासीका नाममा भिडिओ सन्देश दिँदै उनले अत्यावश्यक नभई सडकमा ननिस्किन र सवारी नचलाउन अनुरोध गरेकी हुन्।
उनले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने भएकाले सुरक्षित र सावधानीपूर्वक रहन देशवासीलाई अपिल गरिन्।
प्रतिकुल प्राकृतिक परिस्थितिका बाबजुद सबै सरकारी निकायहरू उद्धार र राहतका लागि उच्च मनोबलका साथ पूर्ण तयारी अवस्थामा रहेको भन्दै उनले उपलब्ध सबै स्रोतहरू परिचालन गरेको र आवश्यक परेको अवस्थामा सरकारी सहयोग लिन अप्ठ्यारो नमान्न आग्रह गरिन्।
उनले राजमार्गहरू बन्द रहेको जानकारी दिँदै अवस्थाले साथ दिने बित्तिकै खुलाउन प्राथमिकता रहने उनले बताइन्।
‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् । तपाईँहरूको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्,’ उनले भनेकी छिन्, ‘हामी तपाईँहरूको चिन्ता र कठिनाइलाई बुझ्छौँ । म प्रस्ट पार्न चाहन्छु, तपाईँ यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईँहरूसँगै छन् ।’
उनले जहाँ जुन अवस्थामा हो सुरक्षित रहन आग्रह गर्दै अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्न र अत्यावश्यक नभएसम्म यात्रा नगर्न आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले जोखिमकै कारण सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको उल्लेख गर्दै बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा रहेको र यो परिस्थिति अझै बढ्ने क्रममा रहेको जानकारी गराइन्।
असोज १८, २०८२ शनिबार २०:३३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।