२० गतेसम्म कुनै सवारी काठमाडौं भित्रन र बाहिरिन नपाइने, २४ घण्टा अलर्टमा बस्न सिडिओलाई निर्देशन

२० गतेसम्म कुनै सवारी काठमाडौं भित्रन र बाहिरिन नपाइने, २४ घण्टा अलर्टमा बस्न सिडिओलाई निर्देशन

काठमाडौं : गृह मन्त्रालयले २० गतेसम्म लामो दुरीसहितका सवारी साधनलाई काठमाडौं भित्रिन र बाहिरिन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। शनिवार पठाइएको परिपत्रमा लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधनको आवतजावत २०८२ असोज १८,१९ र २० गतेका दिन बन्द गर्ने/गराउने र सो अनुसार अनुगमन र निगरानी गर्न भनिएको छ।

आठ बुँदे परिपत्रमा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा वर्षा समेत भइरहेको सन्दर्भमा मनसुनजन्य विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी देहाय बमोजिम गर्ने गराउने व्यवस्था मिलाउन भनिएको छ।

निर्देशनमा राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था अनुसार गन्तव्यसम्म पुर्याउन सहजीकरण गर्ने र आवश्यकता अनुसार यात्रुहरूलाई स्थानीय तह तथा संघसंस्थाहरुसँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन समन्वय गर्न भनिएको छ।

यसका लागि बाढी तथा पहिरोको जोखिम रहेको जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टा उपलब्ध हुनेगरि खटिन समेत भनिएको छ।

परिपत्रमा उल्लेखित निर्देशन

१. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी भएको सूचना अनुसार लामो दूरीका र काठमाण्डौ उपत्यका भित्रिने/बाहिरिने सवारी साधनको आवतजावत मिति २०८२ असोज १८,१९ र २० गतेका दिन बन्द गर्ने/गराउने र सो अनुसार अनुगमन र निगरानी गर्ने।

२. राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था अनुसार गन्तव्यसम्म पुर्याउन सहजीकरण गर्ने र आवश्यकता अनुसार यात्रुहरूलाई स्थानीय तह तथा संघसंस्थाहरुसँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन समन्वय गर्ने।

३. राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहयोग गर्ने। बाटोमा अलपत्र परेका गर्भवती महिलाहरूको हकमा नजिकको बर्थिङ सेन्टरसम्म पुर्याउने व्यवस्था मिलाउने।

४. बाढी, पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउने।

५. मौसमका कारण उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुहरूलाई यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिवहनको व्यवस्था मिलाउने।

६. बाढी पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्ने।

७. प्रतिकुल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुने व्यवस्था मिलाउने।

८. उल्लेखित कार्यहरूको प्रगति विवरण विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउने।

असोज १८, २०८२ शनिबार १९:१३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।