सन् २०१४ देखि हालसम्म भूमध्यसागरमा ३२ हजार ७ सयभन्दा बढी आप्रवासीको मृत्यु

सन् २०१४ देखि हालसम्म भूमध्यसागरमा ३२ हजार ७ सयभन्दा बढी आप्रवासीको मृत्यु

एजेन्सी : संयुक्त राष्ट्रसंघले सन् २०१४ देखि अहिलेसम्म भूमध्यसागरमा ३२ हजार ७ सयभन्दा बढी आप्रवासीको मृत्यु भएको जनाएको छ।

महासचिवका प्रवक्ता स्टेफन डुजारिकले नियमित ब्रीफिङमा भूमध्यसागर सुरक्षा खोज्नेहरूका लागि मृत्युको जाल बनेको भन्दै आप्रवासी र शरणार्थीहरूले सामना गर्नुपर्ने उच्च जोखिमप्रति चिन्ता व्यक्त गरे।

उनका अनुसार १२ वर्षअघि इटालीको लम्पेडुसा टापु नजिकै ३६८ आप्रवासी समुद्रमा ज्यान गुमाएका थिए भने करिब ५०० अफ्रिकी आप्रवासी बोकेको डुङ्गा आगलागीपछि डुबेको थियो।

त्यसबेला संयुक्त राष्ट्रका एजेन्सीहरूले यस्तो त्रासदी दोहोरिन नदिने प्रतिबद्धता जनाएको भए पनि पछिल्ला वर्षहरूमा समुद्रमा मृत्यु हुने संख्यामा निरन्तर वृद्धि भएको उनले बताए।

संयुक्त राष्ट्रका तथ्यांकअनुसार सन् २०१४ देखि मध्य भूमध्य मार्गमा मात्र हरेक हप्ता औसत ४२ जनाले ज्यान गुमाएका छन्, जसमा पाँच जना मध्ये एक जना बालबालिका रहेका छन्।

संयुक्त राष्ट्रका एजेन्सीहरूले द्वन्द्व समाधान, अन्तर्राष्ट्रिय सहयोग मजबुत गर्ने र सुरक्षित तथा नियमित आप्रवासन प्रणालीलाई प्रभावकारी बनाउन जोड दिएका छन्। यसले मानव तस्करद्वारा आयोजना गरिने खतरनाक समुद्री यात्रामा निर्भरता कम गर्न मद्दत गर्ने उनीहरूको भनाइ छ।

असोज १८, २०८२ शनिबार १७:०९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।