प्रतिकूल मौसमका कारण आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : अविरल वर्षासँगै सिर्जित प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै सरकारले भोलि आइतबार र पर्सि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालय स्रोतका अनुसार राजमार्गमा खसेका पहिरो र जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको चेतावनीलाई आधार मान्दै बिदा थपिएको हो।
यसअघि सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो। तर जोखिमपूर्ण अवस्थाका कारण तत्काल दुई दिन बिदा दिन लागिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग सुरक्षा व्यवस्थाबारे छलफल गरिएको छ।
उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्र परिचालन गर्ने र आकस्मिक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको मन्त्रालयले जानकारी दिएको छ।
असोज १८, २०८२ शनिबार १५:२१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।