हेटौँडा-काठमाडौं सडकमा सवारीसाधनलाई रोक

काठमाडौं : लगातार वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि हेटौँडा-काठमाडौँ जोड्ने सडकमार्गमा सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ, हेटौँडा-भैँसे-फाखेल सडक र हेटौँडा–चित्लाङ–काठमाडौँ सडकमार्ग आज बिहानैदेखि बन्द गरिएको हो।
प्रहरीले हेटौँडाबाट काठमाडौँतर्फ छुटेका सवारीसाधनलाई चौकीटोल, भैँसे र पिप्लेमा रोकेको छ। सवारीसाधन सञ्चालन रोकिँदा यात्रुहरू बाटैमा अलपत्र परेका छन्।
हालसम्म ती सडकमा बाढी वा पहिरोका कारण प्रत्यक्ष अवरोध नदेखिए पनि निरन्तर वर्षाका कारण उच्च जोखिम भएकाले अग्रिम सतर्कता स्वरूप सडक बन्द गरिएको प्रवक्ता बोगटीले जानकारी दिए।
यस्तै, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले असोज २० गतेसम्म विशेषगरी लामो दूरीका तथा रातिको यात्रा नगर्न आग्रह गर्दै जिल्लाबासीलाई सतर्क रहन अपिल गरेका छन्।
असोज १८, २०८२ शनिबार १४:३२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।