विपद् व्यवस्थापनमा खटिए सय जना महानगर प्रहरी

विपद् व्यवस्थापनमा खटिए सय जना महानगर प्रहरी

काठमाडौं : गएरातिदेखि लगातार वर्षा जारी भएपछि काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापनमा १०० जना महानगर प्रहरी परिचालन गरेको छ।

महानगरले डुबान प्रभावित बस्तीलाई नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारीसमेत गरेको र कुनै समस्या परे तत्काल सम्पर्क गर्न आग्रह गरेको जनाएको छ।

महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार काठमाडौँसहित देशका धेरै ठाउँको अवस्था निरन्तर वर्षाका कारण संवेदनशील बनेको छ। काठमाडौँमा नगर प्रहरी खटाइएसँगै आवश्यकता परे थप जनशक्ति तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

जोशीले जोखिमयुक्त बस्तीमा विशेष सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक अन्य अवस्थामा बाहिर ननिस्कन महानगरले आग्रह गरेको जानकारी दिए।

त्यसैगरी महानगरका जनप्रतिनिधिहरू सम्भावित जोखिमयुक्त क्षेत्रको अवलोकनमा खटिएका छन्। विशेषगरी सोल्टी मोड पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको र खोलाले घर नजिकै करिब पाँच फिट मात्र दूरी छोडेको अवस्थामा थप क्षति रोक्न महानगर प्रहरी र विपद् व्यवस्थापन विभागले ग्राभेल बोरा प्रयोग गरी रोकथाम प्रयास गरिरहेको उनले बताए।

असोज १८, २०८२ शनिबार १४:१५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।