डा. अमूल्यको उपचार अनुभवः दोस्रो जीवन दिएको भन्दै विरामीले घडि उपहार दिएपछि...

डा. अमूल्यको उपचार अनुभवः दोस्रो जीवन दिएको भन्दै विरामीले घडि उपहार दिएपछि...

डा. अमूल्य दाहाल आयुर्वेद चिकित्सक हुन्। आयुर्वेदका विभिन्न उपचार विधि अपनाई बिरामीलाई सञ्चो बनाउनु र व्यक्तिलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु उनको दैनिकी हो। उनै अमूल्यले आफ्नो चिकित्सकीय पेशाको सिलसिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्।

लाहुरे बाजेले त्यो अमूल्य घडि लिएर आएपछि...

एक जना अवकाशप्राप्त ब्रिटिश लाहुरेको उपचार गरेको प्रसंग डा. अमूल्य कहिल्यै भुल्दैनन्। प्रसंग करिब ९ वर्ष अघिको हो, जतिबेला उनी सरकारी जागिरमा प्रवेश गरेर  संखुवासभास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यालय प्रमुखको भूमिकामा कार्यरत थिए। त्यो बेला डा. अमूल्य करिब २७ वर्ष भएका थिए भने ती बाजेको उमेर ६५ माथिको थियो।

गुरुङ थरका ती अवकाशप्राप्त लाहुरे बाजे मलद्वारबाट रगत गएर थला परेका रहेछन्। बाजे विभिन्न ठाउँमा उपचारका लागि नगएका हैनन्। तर, ठिक भएनछ। बाजेले करिब पाँच लाख खर्च गर्दा समेत सो समस्या ठिक नभएपछि बाजे शिथिल बनेका थिए। 

आधुनिक चिकित्सा विधिको विभिन्न अस्पतालमा उपचार गर्दा पनि  समस्या ठिक नभएपछि बाजे मर्नु न बाँच्नुको अवस्थामा पुगेका थिए। त्यही बीचमा एक दिन नयाँ डाक्टर आएका छन् रे कतै ठिक भइहाल्छ की भनेर बाजे झिनो आशा बोक्दै आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगेछन्। आयुर्वेद केन्द्रमा पुगेका बाजेको डा. अमूल्यले स्वास्थ्य परीक्षण गरे। बाजेलाई पायल्सकै समस्या भएको उनले पहिचान गरे। 

पाइल्सको समस्याले हैरान भएका ती बाजेको पायल्सको समस्या ठिक पार्नका लागि शल्यक्रिया गर्नु परेन। डा. अमूल्यले आयुर्वेद विधि अपनाइ औषधि उपचार सुरु गरे। 

करिब एक हप्ताको औषधि उपचारपछि त बाजेको पायल्सको समस्या ठिक हुँदै गइहाल्यो। केही समयको उपचारपछि समस्या पूर्णरुपमा ठिक भयो। पायल्सको समस्या ठिक भएपछि बाजे खुसी नहुने कुरै भएन। हुन त सबै रोग आयुर्वेद औषधि उपचारले ठिक हुन्छ नै भन्ने हैन। र, सबै रोग आधुनिक चिकित्सा विधिले पनि ठिक हुन्छ नै भन्ने एकिन हुँदैन। 
यी दुवै विधाका आ-आफ्नै विशेषता छन्। तर, ती बाजेलाई आयुर्वेदिक औषधि उपचारले नै पायल्सको समस्या ठिक भयो।

अनि एक दिन फलोअपमा आएको बेला ती बाजेले डा. अमूल्यलाई भनेछन्, ‘डाक्टरसाप तपाइँले मलाई अर्को जुनी दिनुभयो, मलाई मेरो कर्णेलले उतै हुँदा उपहार दिएको यो घडी तपाईँ बाँध्नुहोस्।’

ती बाजेलाई लाहुरमा हुँदा कर्णेलले दिएको घडी उपहारको रुपमा दिन खोजेपछि डा. अमूल्यलाई निक्कै असहजता महसुस भयो। अनि उनले ‘यो मेरो नियमित काम हो। केही दिनु पर्दैन, भन्दै ती बाजेलाई सम्झाउन कोसिस गरे। 
तर, बाजेले मानेनन्। जसरी पनि उपहार स्वरुप घडि लिइदिन बाजेले अनुरोध गरे। बाजेको कुरा हार्न नसकेपछि मनले नमानी नमानी डा. अमूल्यले बाजेको हातबाट अमूल्य घडि उपहार लिए।

चाडपर्वमा खानपान गर्न नजान्दा पायल्सको जोखिम

डा. अमूल्य विशेषगरी चाडपर्वहरुमा सन्तुलित भोजन गर्न नजान्दा दशैंपछि पायल्सको समस्या भएर अस्पताल पुग्ने बिरामीको चाप बाक्लै हुने बताउँछन्। त्यसैले मासु र चिल्लो पदार्थ धेरै नखान उनको सुझाव छ। तारेको, भुटेको परिकार सकभर नखान उनको सुझाव छ। माछामासुसँग रेसादार हरियो सागसब्जी खान उनको सुझाव छ।

डा. अमूल्य बिरामीलाई स्वास्थ्य समस्याको प्रकृतिअनुसार आयुर्वेद विधि अपनाई औषधि उपचार गर्छन्। अनि आवश्यकता अनुसार आयुर्वेद विधि अपनाई बिरामीको रोग फालेर सञ्चो बनाउने कोसिसमा उनी तल्लीन हुन्छन्।
डा. अमूल्य पायल्स, फिसर तथा फिस्टुलाजस्ता समस्याको समाधानका लागि आयुर्वेदको शल्य चिकित्साको ‘क्षारकर्म, क्षारसूत्र’ र औषधि विधि निक्कै प्रभावकारी रहेको बताउँछन्। 

पायल्स, फिस्टुला तथा फिसरजस्ता समस्या भएका कयौं बिरामीलाई उनले आयुर्वेद औषधि उपचार गरी सञ्चो बनाएका छन्। 

छात्रवृत्तिमा बीएएमएस

उदयपुरको लेखानीमा जन्मिएका अमूल्यका बुवा काठमाडौंमा शिक्षक थिए। त्यसैले उनले सानैबाट काठमाडौंमा नै पढे। त्यो बेला उनकी आमा पनि सरकारी जागिरे नै थिइन्। २०६० सालमा आमाको पाल्पामा सरुवा भएपछि उनले ९ कक्षामा भर्ना भएर पाल्पामा पढ्न थाले र त्यहीँको न्यूहोराइजन सेकेन्डरी स्कुलबाट २०६१ मा एसएलसी गरे। अध्ययनमा अब्बल उनी एसएलसीमा जिल्लामा नै तेस्रो भएका थिए। त्यसपछि काठमाडौंको विश्वनिकेत साइन्स क्याम्पसबाट उनले छात्रवृत्तिमा आइएसी गरे। 

अमूल्यलाई डाक्टर नै बन्ने रहर थियो। परिवार तथा आफन्त र उनका गुरु प्रा. डा. देव बहादुर रोकाको सुझावपछि उनले आयुर्वेद चिकित्सा विषय पढ्ने निर्णय गरेछन्। त्यही अनुसार उनले तयारी पनि गरे। छनोट परीक्षा दिए। 
छनोट परीक्षा पार गरेर त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘आयुर्वेद क्याम्पस कीर्तिपुरमा २०६५ मा आयुर्वेद चिकित्सा विषय ‘ब्याचलर अफ आयुर्वेद मेडिसिन एण्ड सर्जरी (बीएएमएस) अध्ययनका लागि सरकारी छात्रवृत्ति कोटामा भर्ना भए। उनले २०७१ मा बीएएमएस अध्ययन पूरा गरे र उत्कृष्ट नम्बर ल्याउन पनि सफल भए। 

‘फुच्चे डाक्टर देखेर पत्याउँदैनथे’

बीएएमएस अध्ययनपछि डा. अमूल्य लोकसेवा परीक्षामार्फत २०७२ सालमा सरकारी स्थायी आयुर्वेद चिकित्सकका रूपमा आठौं तहको जागिरमा प्रवेश गरे। सरकारी जागिरे भएपछि उनी पोष्टिङ भएर संखुवासभास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यालय प्रमुखको भूमिकामा काम गर्न थाले। आयुर्वेद चिकित्सक बनेपछि त्यो बेला सानो सानो देखिएकाले बिरामीहरुले नपत्याएर उनलाई ‘डाक्टरसाप कहाँ हुनुहुन्छ? काठमाडौंबाट राम्रो पढेर आउनु भएको छ रे, भनेर उनलाई नै सोध्थे रे। अनि ‘म नै डाक्टर हो। भनेपछि हिचकिचाउँदै औषधि उपचार गराएको सम्झन्छन् उनी। सुरु सुरूसुरूमा त कार्यालय प्रमुख भनेर पनि जो कोहीले झ्वाट्टै पत्याउँदैनथिए रे।

संखुवासभामा स्रोत साधनको अभावका बाबजुद पूर्वकर्म र पञ्चकर्मलगायत आयुर्वेदतर्फका उपचारात्मक सेवाहरू सुरू गरेको उनले अनुभव सुनाए। हाडजोर्नी खिइएको, दुखेको, बाथको समस्या, नसा च्यापिएका, गुद्द रोग, पेट सम्बन्धि रोग जस्ता समस्याको उपचार सेवा सुरु  गरेको उनले सुनाए। संखुवासभामा योगमाया आयुर्वेद विश्वविद्यालय बनाउने योजनाका लागि अध्ययनमा विषय विज्ञका रुपमा सहभागी भएको सम्झँदै अहिले विश्वविद्यालय बनेकोप्रति उनी निक्कै खुसी छन्। संखुवासभामा डा. अमूल्यले करिब साढे तीन वर्ष काम गरे।

छनोटमा काय चिकित्सा

डा. अमूल्यको पनि थप अध्ययन गर्ने हुटहुटी हुने नै भयो। त्यसैले उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘आयुर्वेद क्याम्पस, कीर्तिपुरमा २०७६ मा भर्ना भएर आयुर्वेदको स्नातकोत्तर तहको ‘काय चिकित्सा’ विषयमा एमडी पढ्न थाले। उनले सरकारी छात्रवृत्ति कोटामा नै एमडी अध्ययन गर्ने मौका पाए। २०७९ मा उनको एमडी अध्ययन सकियो। 

त्यो बेला कोरोना भाइरस सङ्क्रमण पराजित गर्न विभिन्न आयुर्वेद औषधिको प्रयोग गरेको समेत उनले अनुभव सुनाए। 
एमडी अध्ययन गर्दा गर्दै त्यही बीचमा उनी बागमती प्रदेशमा समायोजन भए। एमडी अध्ययनपछि डा. अमूल्य रसुवास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यालय प्रमुखको भूमिकामा काम गर्न पुगे। त्यहाँ स्रोत र साधनको अभावका बाबजुत निक्कै समन्वय गरेर आयुर्वेद उपचारात्मक सेवा दिन सफल भएको उनले अनुभव सुनाए। आफ्नो भवन नभएको र भाडाको भवनमा सेवा दिँदा सेवा प्रभावकारी नभएको महसुसपछि त्यहाँ तत्कालीन अवस्थामा खाली रहेको कृषि कार्यालयको भवनमा कार्यालय सारेर सेवा सुरु गरिएको उनले सुनाए। त्यही बर्ष बागमती प्रदेशको मूल्यांकनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रसुवा उत्कृष्ट भएको उनले सुनाए। त्यहाँ उनले करिब एक वर्ष काम गरे।

 त्यही बीचमा केही समय बागमती प्रदेश स्वास्थ्य मन्त्रालय बसे। विगत दुई वर्ष यता भने डा. अमूल्य धादिङस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सरुवा भएर कार्यालय प्रमुखको भूमिकामा कार्यरत छन्। धादिङमा पनि आयुर्वेद उपचारात्मक सेवाको प्रभावकारी विकासका लागि पहल गरिरहेको उनले सुनाए। आयुर्वेदिक सेवाको विकासका लागि चिकित्सालयको भवन निर्माण लगायतको कमको प्रक्रिया अघि बढेको उनले सुनाए।  

आयुर्वेद चिकित्सालयमा रहेर आर्थिक तथा प्रशासनीक काम त छँदैछ, उपचारका लागि पुगेका बिरामीको विशेषगरी पञ्चकर्म अन्तर्गतका शिरोधारा, कटी बस्ती, जानु बस्ती, ग्रीवा बस्ती, नस्य, एकाङ्ग तथा सर्वाङ्ग स्वेदन र बस्ती तथा विरेचनजस्ता उपचारात्मक विधि अपनाइ बिरामीको औषधि उपचार गर्नु उनको दैनिकी हो। 

त्यसैगरी छालाजन्य समस्या, नसा च्यापिएका, बाथ, हाडजोर्नी, बालबालिकामा देखिने अटिजम, पेटसम्बन्धी विकार, मानसिक समस्या, पक्षघातका कारण हातखुट्टा तथा शरीर नचल्ने जस्ता समस्याको उपचारका लागि आयुर्वेदको पञ्चकर्म विधि अपनाइने गरेको उनले सुनाए। र, यो विधि प्रभावकारी पनि भएको उनले सुनाए।

असोज १८, २०८२ शनिबार १३:५८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।