शनिवार बेलुका थप पानी बढ्ने जोखिम, ४० जिल्ला बाढीको उच्च जोखिममा

शनिवार बेलुका थप पानी बढ्ने जोखिम, ४० जिल्ला बाढीको उच्च जोखिममा

काठमाडौँ : शुक्रवार बेलुकाबाट सुरु भएको वर्षा शनिवार बेलुका थप बढ्न सक्ने भन्दै असोज  २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविद्ले जानकारी दिएका छन्।जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार शुक्रवार बेलुकाबाट सुरु भएको अविरल वर्षाका कारण ४० जिल्ला बाढीको उच्च जोखिममा छ।

वर्षाको दर बिस्तारै बढ्दै गएको  र यो क्रम शनिवार राति अझै बढ्न सक्ने सम्भावना रहेकाले बाढीको सतह अझै बढ्ने जोखिम रहेकाले शनिवार बेलुका र आइतवारसम्मका लागि विशेष सतर्कता जरुरी रहेको विभागले जानकारी दिएको छ।

काठमाडौंमा  विष्णुमती, बागमती, मनोहरा र नख्खु  नदीहरूमा बाढी सतर्कताको तह नजिक पुगेकाले शनिवार बेलुका र आइतबार विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

उच्च जोखिममा ४० जिल्ला

विभागका अनुसार बागमती प्रदेशमा रहेका चितवन, मकवानपुर, सिन्धुली लगायतका जिल्लामा मध्यम वर्षा भइरहेका छन्। वर्षा मध्यमबाट भारीतर्फ उन्मुख रहेकाले जोखिम पनि उच्च छ।

मधेस प्रदेशका जिल्लामध्ये बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीमा पनि वर्षाको मात्रा भारीतर्फ उन्मुख छ।

विभागले पानी परिरहेका जिल्लामध्ये सुनसरी, सप्तरी,सिराहा,धनुषा, महोत्तरी,  उदयपुर, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्ला बाढीको अति उच्च जोखिममा छन्।

काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ बाढीको उच्च जोखिममा छन्।

गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु,कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दियामा मध्यम जोखिमको सूचीमा छन्।

असोज १८, २०८२ शनिबार १३:२०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।