अविरल वर्षाले काठमाडौंमा पहिरो, कोहिनुर हाउजिङ नजिक सडक भासिँदा घरहरू जोखिममा

काठमाडौं : गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगरपालिका-१४ स्थित कोहिनुर हाउजिङ नजिकै सडक भासिएको छ।
आज बिहान करिब ९ बजे करखुसी खोलाको किनारमा पहिरो जाँदा सडक भासिएको हो, जसका कारण सडक छेउका घरहरू उच्च जोखिममा परेका छन्।
घटनालगत्तै काठमाडौं महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको टोली घटनास्थलमा खटिएको छ।
महानगरपालिकाका अनुसार, थप क्षति हुन नदिन र नदी कटान रोक्न बालुवा भरिएका बोरा र ग्राभेलको प्रयोग गरी अस्थायी तटबन्ध निर्माण गर्ने प्रयास भइरहेको छ। महानगरका प्रतिनिधिहरूले अन्य सम्भावित जोखिमयुक्त स्थानहरूको पनि निरीक्षण गरिरहेका छन्।
महानगरपालिकाले निरन्तरको वर्षाले अन्य बस्तीमा पनि डुबानको समस्या निम्तिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। कुनै बस्तीमा डुबान भएमा पीडितहरूलाई तत्काल उद्धार गरी नजिकैका सुरक्षित विद्यालयहरूमा सार्ने तयारी गरिएको महानगरले जनाएको छ।
कुनै पनि विपद्को अवस्थामा तत्काल सम्पर्क गर्नका लागि महानगरपालिकाले हेल्पलाइन नम्बरहरू समेत सार्वजनिक गरेको छ। समस्या परेमा निम्न नम्बरहरूमा तुरुन्त सम्पर्क गर्न सकिन्छ:
१६६००१०५५११
०१-५९०१७६४
०१-५९०१७६३ (महानगर प्रहरी)
असोज १८, २०८२ शनिबार १०:३८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।