सुमनको उत्कृष्ट बलिङमा नेपालको शानदार जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा शानदार जित हात पारेको छ।
सुमन विष्टको उत्कृष्ट बलिङको मद्दतले नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो।
मलेसियाले दिएको ९२ रनको सामान्य लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर सहजै पूरा गर्यो। नेपालले २२ बल बाँकी छँदै विजय हासिल गरेको हो।
त्यसअघि, पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ९१ रन बनाएको थियो। मलेसियाका लागि आइन्ना हमिजा हसिमले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले उनलाई राम्रो साथ दिन सकेनन्। उनले ६३ बलमा ५ चौका प्रहार गरिन्।
नेपालको कसिलो बलिङसामु मलेसियाका ब्याट्सम्यान खुलेर खेल्न सकेनन्। नेपालका लागि सुमन विष्टले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १८ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिइन्।
त्यस्तै, कविता कुँवरले १ विकेट हात पारिन् भने एक खेलाडी रनआउट भइन्। कविता जोशी र रचना कुमारी चौधरीले किफायती बलिङ गर्दै रन गतिमा अंकुश लगाएका थिए।
यो जितसँगै नेपालले टी-२० शृंखलामा महत्त्वपूर्ण अग्रता लिएको छ।
असोज १८, २०८२ शनिबार १०:२९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।