विश्वकप छनोटको तयारी : नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ छनोटको अन्तिम तयारी स्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) घरेलु टोली ओमानसँग अभ्यास खेल खेल्दैछ।
खेल ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ। यो खेल नेपालका लागि महत्त्वपूर्ण मानिएको छ।
छनोट प्रतियोगिता सुरु हुनुअघि टोलीलाई आफ्नो संयोजन, ब्याटिङ तथा बलिङ रणनीति परीक्षण गर्न र स्थानीय अवस्थाहरुसँग अभ्यस्त हुन यो खेलले मद्दत गर्नेछ।
ओमान एसोसिएट क्रिकेटको एक बलियो टोली हो, त्यसैले उनीहरुविरुद्धको खेलले नेपालको तयारीको राम्रो परीक्षण गर्ने विश्वास गरिएको छ।
नेपालको मुख्य लक्ष्य छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउनु हो।
हालै वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखला जितेर उच्च मनोबलमा रहेको नेपाली टोली यो अभ्यास खेलबाट लय कायम राख्दै छनोट प्रतियोगितामा प्रवेश गर्न चाहन्छ।
असोज १८, २०८२ शनिबार १०:१८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।