तीन दिनका लागि लामो दूरीका र उपत्यका भित्रिने सवारीसाधन सञ्चालनमा रोक

तीन दिनका लागि लामो दूरीका र उपत्यका भित्रिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं : सरकारले भारी वर्षाको पूर्वानुमानसँगै सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै आजदेखि तीन दिनका लागि लामो दूरीका तथा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै असोज १८, १९ र २० गतेसम्मका लागि यातायात बन्द गर्ने निर्णय गरेको हो।

सूचनाअनुसार, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र उपत्यका आवतजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकोले यस्तो निर्णय लिइएको प्राधिकरणले जनाएको छ।

भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबानजस्ता विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न यो कदम चालिएको हो।

प्राधिकरणले उक्त अवधिमा अत्यावश्यकबाहेकका सवारीसाधन नचलाउन यातायात व्यवसायीलाई निर्देशन दिएको छ भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्णय कार्यान्वयन गराउन र त्यसको निरन्तर अनुगमन गर्न अनुरोध गरेको छ।

यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै प्राधिकरणले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, सुरक्षित रूपमा घरमै बस्न र विपद् सम्बन्धी आधिकारिक सूचनाका लागि रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालजस्ता माध्यमहरूमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

असोज १८, २०८२ शनिबार १०:११:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।