पूर्वी राप्तीमा बाढीको उच्च खतरा, मध्य र पूर्वी तराईका दर्जनौं जिल्ला आकस्मिक बाढीको जोखिममा

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज देशका अधिकांश नदीहरूमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ।
लगातारको वर्षाका कारण पूर्वी राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेको छ भने कोशी र नारायणीका सहायक नदीहरूमा पनि बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार, पूर्वी राप्ती नदीमा बाढीको उच्च खतरा रहेकोले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
त्यस्तै, कोशी बेसिनका तमोर, त्रियुगा, अरुण, लिखु र नारायणी बेसिनका बुढीगण्डकी, मर्स्याङ्दी, सेती, र कालीगण्डकी लगायतका नदीहरूमा पानीको बहाव खतराको तहसम्म पुग्ने देखिएको छ।
आज, भोलि र पर्सीसम्म नै यी नदीहरूमा बहाव बढ्ने क्रम जारी रहने भएकाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आकस्मिक बाढीको अति उच्च जोखिम
महाशाखाले विशेषगरी पहाडबाट चुरे र तराईमा बग्ने साना नदीहरूमा आकस्मिक बाढीको अति उच्च जोखिम रहेको चेतावनी दिएको छ। पूर्वानुमानअनुसार, निम्न जिल्लाहरूमा आकस्मिक बाढीको खतरा सबैभन्दा बढी छ।
अति उच्च जोखिममा रहेका जिल्लाहरू: सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन।
उच्च जोखिममा रहेका जिल्लाहरू: झापा, इलाम, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व र पश्चिम, पाल्पा, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रहरू।
यसैगरी, कास्की, लमजुङ, तनहुँ, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके र बर्दिया जिल्ला भएर बग्ने साना नदीहरूमा पनि आकस्मिक बाढीको उच्च सम्भावना रहेकोले तटीय क्षेत्रमा सतर्क रहन भनिएको छ।
महाशाखाले बाढीसम्बन्धी अद्यावधिक जानकारीका लागि आफ्नो फेसबुक पेज ‘Nepal Flood Alert’ हेर्न वा ‘Nepal Flood Alert’ लेखेर ११५५ मा एसएमएस गर्न सकिने जनाएको छ।
असोज १८, २०८२ शनिबार १०:०२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।