ऐतिहासिक जितको खुसियाली मनाउँदै सोमपालको नजर विश्वकपमा, भने- ‘छिमेकमा विश्वकप खेलेर समर्थकलाई खुसी दिनु छ’

ऐतिहासिक जितको खुसियाली मनाउँदै सोमपालको नजर विश्वकपमा, भने- ‘छिमेकमा विश्वकप खेलेर समर्थकलाई खुसी दिनु छ’

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले हालै वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी-२० शृंखला जितको खुसीले टोलीको मनोबल उच्च भएको बताएका छन्। उनले अब टोलीको एकमात्र लक्ष्य आईसीसी टी-२० विश्वकप २०२६ को छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाउनु रहेको स्पष्ट पारेका छन्।

दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्धको शृंखला जितपछिको अनुभव साट्दै सोमपालले भने, ‘यो जितले हामी सबै निकै खुसी र भावनात्मक भयौँ। वेस्ट इन्डिज जस्तो बलियो टोलीलाई हराउनु ठूलो उपलब्धि हो। हामी त मैदानमा खेलिरहेका थियौँ, तर हाम्रा परिवारका सदस्यहरू टेस्ट राष्ट्रलाई हराएको हेर्न निकै आतुर हुनुहुन्थ्यो। उहाँहरूको खुसीले हामीलाई थप ऊर्जा मिलेको छ।’

अब टोलीको ध्यान विश्वकप छनोटमा केन्द्रित भएको बताउँदै सोमपालले यो प्रतियोगिता नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण रहेको बताए।

उनले भने, ‘नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पुर्याउने हो भने हामीले नियमित रूपमा ठूला टोलीसँग खेल्नुपर्छ। पछिल्ला केही वर्षमा हामीले एसिया कप, विश्वकप र वेस्ट इन्डिजसँग खेलेर राम्रो अनुभव बटुलेका छौँ। यो लयलाई कायम राख्दै विश्वकपमा छनोट हुनु हाम्रो मुख्य लक्ष्य हो।’

यदि नेपाल छनोट भएमा यो सोमपालको तेस्रो विश्वकप हुनेछ। यद्यपि उनले व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीको सफलता महत्त्वपूर्ण रहेको बताए।

उनले थपे, ‘यो पटकको विश्वकप भारत र श्रीलंकामा हुँदैछ, जुन हाम्रा लागि र समर्थकका लागि पनि विशेष छ। एसिया कपमा जसरी समर्थकहरू हामीलाई समर्थन गर्न श्रीलंका पुग्नुभयो, त्यसैगरी फेरि छिमेकी देशमा गएर उहाँहरूलाई खुसी दिने हाम्रो सपना छ।’

टोलीमा आफ्नो बदलिँदो भूमिकाबारे कुरा गर्दै सोमपालले अहिले युवा खेलाडीहरूलाई मार्गदर्शन गर्न पाउँदा रमाइलो लाग्ने बताए।

उनले भने, ‘पहिला म सिनियर दाइहरूबाट सिक्थेँ, अहिले गुल्सन झा, नन्दन यादव जस्ता नयाँ भाइहरूलाई आफ्नो अनुभव बाँड्न पाउँदा खुसी लाग्छ। यस्तो सहकार्यले टिमको एकता अझ बलियो बन्छ।’

नयाँ प्रशिक्षक स्टुअर्ट लको प्रशिक्षण शैलीको प्रशंसा गर्दै उनले भने, ‘उहाँ एकदम चिल हुनुहुन्छ र खेलाडीलाई धेरै दबाब दिनुहुन्न। उहाँलाई कुन खेलाडीलाई कसरी प्रयोग गर्ने भन्ने राम्रो ज्ञान छ र स्पष्ट भूमिका दिनुहुन्छ, जसले हामीलाई सहज बनाएको छ।’

छनोट प्रतियोगितामा नेपालभन्दा तल्लो वरीयताका टोलीहरूसँग खेल्नुपर्ने भए पनि कुनै पनि टोलीलाई कमजोर आँक्न नहुने सोमपालको भनाइ छ।

‘टी-२० क्रिकेटमा जुनसुकै बेला जे पनि हुन सक्छ। वरीयताले धेरै फरक पार्दैन। हाम्रो लक्ष्य विश्वकप खेल्ने हो, त्यसैले हरेक खेलमा शतप्रतिशत दिएर खेल्नुपर्छ’, उनले भने।

असोज १८, २०८२ शनिबार ०८:४०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।