नारायणगढ-मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द, पहिरोको जोखिम उच्च

चितवन : शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढेपछि अर्को सूचना जारी नभएसम्मका लागि सडक अनिश्चितकालका लागि बन्द गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनले तुइन खोला आसपासको क्षेत्रमा लगातार ढुंगा र पहिरो खसिरहेकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकाे छ- ‘पानी परिरहेको छ। चितवनको मुग्लिन स्थित तुइन खोलामा पहिरो लगाएतका स्थानहरूमा ढुङ्गा खस्ने क्रम जारी रहेकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहान ६:०० बजेबाट चितवन स्थित राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी गराइन्छ।’
बिहानैदेखि बिग्रँदै गएको थियो अवस्था
सडक डिभिजन भरतपुरले बिहानैदेखि सडकको अवस्थाबारे लगातार सूचना जारी गर्दै आएको थियो।
बिहान ६:४५ बजे सडकमा सामान्य ढुंगा खसे पनि सवारी आवागमन सञ्चालनमा थियो, तर पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरिएको थियो।
बिहान ७:१० बजे तुइन खोला पुल नजिकै पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको थियो।
बिहान ७:४० बजे उक्त पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि लगातारको वर्षाले जोखिम कायमै रहेको भन्दै अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरिएको थियो।
दुईतर्फी खुलाइएको केही समयमै पहिरो खस्ने क्रम नरोकिएपछि र जोखिम बढेपछि प्रहरीले सडक पूर्ण रूपमा बन्द गर्ने निर्णय लिएको हो। यसअघि असोजको पहिलो साता पनि यही क्षेत्रमा पहिरो जाँदा सडक ३६ घण्टासम्म अवरुद्ध भएको थियो।
मुग्लिन-नागढुंगा सडकको पहिरो हटाइयो
यसैबीच, पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोलामा आज बिहान ५:५५ बजे खसेको पहिरो भने हटाइएको छ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाएर हाल एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिएको छ। यद्यपि, उक्त क्षेत्रमा पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न चालकहरूलाई आग्रह गरिएको छ।
अधिकारीहरूले यात्रुहरूलाई यात्रा शुरू गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।
असोज १८, २०८२ शनिबार ०८:२८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।