आज देशैभर बदली, यी चार प्रदेशमा अति भारी वर्षा हुने

आज देशैभर बदली, यी चार प्रदेशमा अति भारी वर्षा हुने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज (शनिबार) देशभर मनसुनी वायुको प्रभावले मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने जनाएको छ।

विभागका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

विभागले आज बिहान ०८:०० बजे जारी गरेको बुलेटिन अनुसार, आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

विशेषगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै, आज राति पनि मौसममा सुधार हुने देखिँदैन। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा जारी रहने पूर्वानुमान छ।

यी प्रदेशहरूका केही स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

भारी वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र त्यसले दैनिक जनजीवन तथा यातायात क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।

असोज १८, २०८२ शनिबार ०७:३७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।