बाढी पहिरोको जोखिम उच्च, सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयको अनुरोध

काठमाडौँ : देशका विभिन्न भागमा भारी वर्षा भएर असोज २० गतेसम्म बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कार्यालयले शुक्रवार विज्ञप्ति जारी गरेर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने र कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको उल्लेख गर्दै नदीनाला र खोलानालाको सतह आकस्मिक रूपमा बढ्ने, बाढी–पहिरो, डुबान, कटान तथा भूक्षयको सम्भावना रहेको उल्लेख छ।
विज्ञप्तिमा विशेषगरी मधेस प्रदेशको तराई, नारायणी, बागमती, कोशी र कर्णाली नदी क्षेत्र, काठमाडौँ उपत्यका र पूर्वी तराईका जिल्ला उच्च जोखिम रहेको उल्लेख छ। काठमाडौँ उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, चितवन तथा कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ उच्च जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ।
मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्लामा जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री कार्यालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ। स्थानीय तह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायलाई पूर्व तयारी र राहत-उद्धारका लागि तयार रहन कार्यालयले निर्देशन दिएको छ।
‘वर्षा र बाढी-पहिरोका घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न सकिने गरी सचेतना र तयारीलाई उच्चतम तहमा पुर्याउन सबैले भूमिका निर्वाह गर्न आवश्यक छ’ विज्ञप्तिमा उल्लेख छ।
असोज १७, २०८२ शुक्रबार १९:१३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।