म्युनिख विमानस्थलमा ड्रोन आतंक : ​​​​​​​१७ उडान रोकिए, १५ विमान आपत्कालीन रूपमा अन्य शहरतर्फ मोडिए

म्युनिख विमानस्थलमा ड्रोन आतंक : ​​​​​​​१७ उडान रोकिए, १५ विमान आपत्कालीन रूपमा अन्य शहरतर्फ मोडिए

एजेन्सी : जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति धेरै ड्रोन देखिएपछि करिब एक घण्टासम्म सम्पूर्ण उडान स्थगित गरिएको छ।

विमानस्थल प्रशासनका अनुसार म्युनिखबाट प्रस्थान गर्न तय भएका १७ उडान रोकिएका थिए भने १५ वटा विमानलाई आपत्कालीन रूपमा स्टटगार्ट, न्युरेमबर्ग, भियना र फ्रान्कफर्ट जस्ता अन्य शहरतर्फ मोड्नुपरेको थियो। यस कारण करिब ३,००० भन्दा बढी यात्रु प्रभावित भएका छन्।

प्रभावित यात्रुहरूको असुविधा कम गर्न अस्थायी रूपमा क्याम्प बेड, कम्बल, खानेकुरा र पेय पदार्थको व्यवस्था गरिएको थियो। तर उडानहरू कहिले सामान्य अवस्थामा फर्किन्छन् भन्नेबारे भने निश्चित जानकारी दिइएको छैन।

प्रहरी प्रवक्ताले म्युनिख वरिपरि बिहीबार साँझ करिब १९३० जिएमटी र त्यसको एक घण्टापछि फेरि धेरै ड्रोन देखिएको पुष्टि गरेका छन्। सुरक्षा कारण दुवै धावनमार्ग करिब एक घण्टासम्म बन्द गरिएको थियो। प्रहरीले ड्रोनको स्रोत पत्ता लगाउन खोजी कार्य तीव्र बनाएको छ र हेलिकप्टर समेत परिचालन गरिएको छ, तर हालसम्म ड्रोनको संख्या वा प्रकारबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

यो घटना जर्मनीको प्रसिद्ध ओक्टोबर्फेस्ट महोत्सवको अन्तिम सप्ताहन्तअघि भएको हो। दैनिक सयौँ हजार पर्यटक आकर्षित गर्ने यस पर्वको पूर्वसन्ध्यामा यस्तो अवरोध देखिनुले सुरक्षाप्रति थप चिन्ता बढाएको छ।

यस्तै, पछिल्ला दिनमा युरोपका अन्य विमानस्थलहरू- विशेष गरी कोपेनहेगन, ओस्लो र वार्सामा पनि ड्रोन देखिएपछि अस्थायी रूपमा सञ्चालन रोकिएको थियो। पोल्यान्ड र डेनमार्कले यस्ता गतिविधिमा रूसको संलग्नता भएको आरोप लगाएका छन्।

युरोपेली संघ (इयु) का २७ सदस्य मुलुकका प्रतिनिधिहरू अहिले ड्रोनबाट हुने सम्भावित खतरा रोक्न ‘ड्रोन पर्खाल’ निर्माण गर्नेबारे छलफल गरिरहेका छन्।

जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले भने, “हामी हाइब्रिड स्वरूपको नयाँ खतरासँग जुधिरहेका छौँ। आवश्यकता परे हाम्रो हवाई क्षेत्रमा प्रवेश गर्ने ड्रोन खसाल्नेसम्मका उपाय गर्न सकिन्छ।”

असोज १७, २०८२ शुक्रबार १५:४९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।