सालको पात बेचेर चाडपर्वको खर्च जोहो

धरान : इटहरी उपमहानगरपालिका-४ की कृष्णकुमारी विकले यस वर्ष पनि चाडपर्वका लागि आवश्यक खर्च सालको पात बेचेर जुटाइरहेकी छन्।
उदयपुरको गाईघाटबाट ल्याइएका सालका पातलाई इटहरीका हटिया बजारमा बिक्री गर्दै आएकी विकले भनिन, “अरु समयमा पनि यही मेरो मुख्य आम्दानी हो। तर भदौदेखि मङ्सिरसम्म चाडपर्वका बेला बिक्री बढी हुन्छ। अरु बेला ज्यालामजदुरी गर्छु, तर अहिले पातकै व्यापार गर्छु।”
उनका अनुसार चाडपर्वको मौसममा हप्तामा आठदेखि १० हजार रुपैयाँसम्म आम्दानी हुने गर्छ। सालको पातको माग विशेष गरी दसैँ-तिहार, एकादशी, छठपूजा जस्ता धार्मिक अवसरमा अत्यधिक हुने भएकाले यसैबाट घरखर्च धान्न सकिन्छ।
इटहरी-७ की इन्द्रदेवी घिमिरे पनि विगत चार वर्षदेखि सालको पात बेच्दै आएकी छिन्। उनले भदौ, असोज र कात्तिक महिनामा दैनिक ३० देखि ४५ मुठासम्म पात बेच्ने गरेको बताइन्। “सानो मुठा ४०-६० रुपैयाँ र ठूलो मुठा १०० रुपैयाँसम्ममा बिक्री हुन्छ। यसरी महिनामा ३०-४० हजारभन्दा बढी आम्दानी हुन्छ,” उनको भनाइ छ।
स्थानीय महिलाहरूले बिना ठूलो लगानी पात सङ्कलन गरेर बिक्री गर्दा राम्रो आम्दानी हुने भएकाले धेरैले यो व्यवसाय रोजेका छन्। पूजापाठ, भोजभतेर, मन्दिर र घरायसी प्रयोजनसँगै दुनाटपरी बनाउन प्रयोग हुने भएकाले सहरी क्षेत्रमा समेत पातको माग उच्च रहेको उनीहरूको भनाइ छ।
असोज १७, २०८२ शुक्रबार १३:३७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।