मौसम सक्रिय भएसँगै मनाङ-लमजुङ सडकमा रातिमा सवारीसाधन चलाउन रोक

मनाङ : मनसुन अन्त्यतिर फेरि सक्रिय भएको भन्दै असोज २० गतेसम्म ठूलो वर्षा हुने मौसम विज्ञान विभागको पूर्वानुमानपछि मनाङ-लमजुङ सडकमा रातिको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय मनाङले सम्भावित बाढी-पहिरो र भू-स्खलनको जोखिमका कारण बेलुका ६ः३० बजेबाट बिहान ७ बजेसम्म सवारीसाधन चलाउन नपाइने व्यवस्था गरेको हो।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धार टोलीलाई सतर्क अवस्थामा राख्ने र आवश्यक परे तुरुन्त परिचालन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको छ।
प्रशासनले सबै स्थानीय तह, विपद् व्यवस्थापन समिति, सरकारी तथा गैरसरकारी संस्थालाई मनसुन कार्ययोजना अनुसार पूर्वतयारीमा रहन आग्रह गरेको छ।
मस्र्याङ्दी, नारखोला, दूधखोला, डोनाखोला र ठाडाखोला लगायतका नदी-खोलामा पानीको सतह बढ्न सक्ने भएकाले यात्रा गर्नुपर्ने अवस्थामा मात्र सडक प्रयोग गर्न, विशेषगरी बेँसीसहर-चामे–खाङ्सार र स्थानीय ग्रामीण सडकमा अतिरिक्त सतर्कता अपनाउन ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पालना गर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
असोज १७, २०८२ शुक्रबार १३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।