भारतीय डाक्टरको अक्षरले न्यायाधीशको टाउको हल्लायो, आदेशमा भनियो- ‘ह्यान्डराइटिङ छुट्टै ट्युसन पढाउनू!’

भारतीय डाक्टरको अक्षरले न्यायाधीशको टाउको हल्लायो, आदेशमा भनियो- ‘ह्यान्डराइटिङ छुट्टै ट्युसन पढाउनू!’
गत वर्ष मध्य प्रदेश राज्यमा एक भारतीय डाक्टरले लेखेको एउटा प्रिस्क्रिप्शन।

एजेन्सी : किबोर्डमा लेख्ने यो जमानामा हातले लेख्ने अक्षरको के महत्त्व होला? तर भारतको अदालतले भनेको छ, ‘यदि लेखक डाक्टर हो भने, उसको अक्षरको धेरै महत्त्व हुन्छ।’

डाक्टरको अक्षर औषधि पसलेले मात्र बुझ्छन् भन्ने ठट्टा संसारभरि नै चल्छ, भारतमा पनि यो सामान्य हो। तर हालै पञ्जाब र हरियाणा उच्च अदालतले डाक्टरको अक्षर स्पष्ट हुनुपर्ने विषयमा एक कडा आदेश दिएको छ।

अदालतले भनेको छ, ‘स्पष्ट र पढ्न सकिने मेडिकल पुर्जी पाउनु बिरामीको मौलिक अधिकार हो, किनकि यसले जीवन र मृत्युको फरक पार्न सक्छ।’

चाखलाग्दो कुरा त के छ भने, यो मुद्दा डाक्टरको अक्षरबारे थिएन। न्यायाधीश जसगुरप्रीत सिंह पुरी एक महिलाले लगाएको बलात्कार, ठगी र जालसाजीको आरोपमा एक पुरुषको जमानत याचिकामाथि सुनुवाइ गरिरहेका थिए।

जब न्यायाधीश पुरीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको सरकारी डाक्टरको ‘मेडिको-लिगल रिपोर्ट’ हेरे, उनले एक शब्द पनि बुझ्न सकेनन्।

आफ्नो आदेशमा उनले लेखे, ‘यो देखेर अदालतको विवेक नै हल्लियो, किनकि मेडिकल रिपोर्टको एउटा अक्षर पनि पढ्न सकिने थिएन।’

न्यायाधीश पुरीले भने, ‘प्रविधि र कम्प्युटर सजिलै उपलब्ध भएको समयमा पनि सरकारी डाक्टरहरूले हातले यस्तो पुर्जी लेखिरहेका छन्, जुन सायद औषधि पसलेबाहेक अरू कसैले पढ्न सक्दैन। यो आश्चर्यजनक छ।’

अदालतको कडा निर्देशन
अदालतले सरकारलाई मेडिकल कलेजको पाठ्यक्रममा अक्षर सुधार्ने कक्षा समावेश गर्न, दुई वर्षभित्र सबै पुर्जीहरूलाई डिजिटल (कम्प्युटरबाट प्रिन्ट गरिएको) बनाउने व्यवस्था गर्न र यो व्यवस्था लागू नभएसम्म सबै डाक्टरले स्पष्ट रूपमा ठूला अक्षरमा पुर्जी लेख्न समेन आदेश दियो।

३ लाख ३० हजारभन्दा बढी सदस्य रहेको भारतीय मेडिकल एसोसिएसनका अध्यक्ष डा. दिलीप भानुशालीका अनुसार, उनीहरू यो समस्या समाधान गर्न सहयोग गर्न तयार छन्।

‘धेरै डाक्टरहरूको अक्षर खराब छ भन्ने कुरा सत्य हो, तर यसको कारण उनीहरू अत्यधिक व्यस्त हुनु हो, विशेषगरी सरकारी अस्पतालहरूमा,’ उनी भन्छन्, ‘दिनमा ७ जना बिरामी हेर्ने डाक्टरले स्पष्ट लेख्न सक्छ, तर दिनमा ७० जना बिरामी हेर्ने डाक्टरका लागि यो गाह्रो हुन्छ।’

अक्षरको गल्तीले निम्त्याएको खतरा
भारतीय अदालतले डाक्टरको अक्षरमाथि प्रश्न उठाएको यो पहिलो पटक होइन। तर डाक्टरको अक्षरको महत्त्व सुन्दरताका लागि होइन, बिरामीको सुरक्षाका लागि हो।

सन् १९९९ मा अमेरिकामा भएको एक अध्ययनअनुसार, मेडिकल गल्तीका कारण वार्षिक करिब ४४ हजार मानिसको मृत्यु हुने गरेको थियो, जसमध्ये सात हजार मृत्यु डाक्टरको खराब अक्षरका कारण भएको थियो।

स्कटल्याण्डमा एक महिलालाई आँखा सुख्खा हुने समस्याको औषधिको सट्टा झुक्किएर यौन उत्तेजना बढाउने क्रिम दिइयो, जसले गर्दा उनको आँखामा रासायनिक चोट लाग्यो। भारतमा पनि औषधि नमिल्दा धेरैको स्वास्थ्य गम्भीर बनेको र मृत्युसमेत भएको छ।

औषधि पसलेको अनुभव
तेलंगाना राज्यका एक औषधि पसले चिलुकुरी परमथामाले सन् २०१४ मा डाक्टरको नबुझिने अक्षरविरुद्ध अभियान चलाएका थिए। उनको प्रयासपछि मेडिकल काउन्सिल अफ इन्डियाले सन् २०१६ मा डाक्टरहरूले स्पष्ट र ठूलो अक्षरमा पुर्जी लेख्नुपर्ने नियम बनाएको थियो।

तर, आज पनि अवस्थामा खासै सुधार आएको छैन। कोलकाताका एक ठूलो फार्मेसीका सीईओ रवीन्द्र खण्डेलवाल भन्छन्, ‘शहरमा धेरैजसो पुर्जीहरू प्रिन्टेड आउँछन्, तर ग्रामीण क्षेत्रबाट आउने पुर्जीहरू अझै पनि हातले लेखिएका र नबुझिने हुन्छन्। कहिलेकाहीँ त हामीले सही औषधि दिनका लागि डाक्टरलाई फोन नै गर्नुपर्छ।’

असोज १७, २०८२ शुक्रबार १०:२५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।