देशका प्रमुख नदीहरूमा जलस्तर बढ्ने पूर्वानुमान, काठमाडौंसहित यी २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

देशका प्रमुख नदीहरूमा जलस्तर बढ्ने पूर्वानुमान, काठमाडौंसहित यी २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने चेतावनी दिएको छ।

साथै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आज विहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी तथा तिनका सहायक नदीहरूमा आगामी तीन दिन (असार १७, १८ र १९ गते) सम्म जलस्तर उल्लेख्य रूपमा बढ्नेछ।

हाल यी नदीहरूमा पानीको बहाव खतराको तहभन्दा तल रहे पनि बहाव बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम:
महाशाखाले विशेष गरी पहाडी क्षेत्रका साना नदी तथा खहरे खोलाहरूमा आकस्मिक बाढीको जोखिम औंल्याएको छ।

पूर्वानुमान अनुसार इलाम, झापा, रामेछाप, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, खोटाङ, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी (पूर्व र पश्चिम), कास्की, तनहुँ, स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, प्यूठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

यी जिल्लामा मध्यम जोखिम:
त्यसैगरी, ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुली, रसुवा, म्याग्दी, बागलुङ, मनाङ, गोरखा, लमजुङ, सुर्खेत, बर्दिया र आसपासका जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान छ।

महाशाखाले उल्लेखित जिल्लाहरू भएर बहने साना नदी, खोलानाला र खहरेहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्र तथा होचा भूभागमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन र पूर्वतयारीमा रहन अनुरोध गरेको छ।

बाढीसम्बन्धी थप जानकारीका लागि विभागको वेबसाइट र ‘नेपाल बाढी सूचना’ (Nepal Flood Alert) फेसबुक पेजमा नियमित रूपमा हेर्न सकिने महाशाखाले जनाएको छ।

असोज १७, २०८२ शुक्रबार ०९:५५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।