यी हुन् आन्तरिक हवाइको अधिकतम भाडादर, सार्वजनिक गर्यो हटलाइन (सूचीसहित)

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडबाडलाई लक्षित गरी मुख्य आन्तरिक हवाई गन्तव्यहरूको अधिकतम भाडादर निर्धारण गरेको छ।
चाडपर्वको समयमा यात्रुको चाप बढ्दा हवाई कम्पनीहरूले मनपरी भाडा असुल्ने गुनासोलाई सम्बोधन गर्न प्राधिकरणले मूल्य नियन्त्रण गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार, अब काठमाडौंबाट हुने उडानहरूमा वायुसेवा कम्पनीहरूले तोकिएको सीमाभन्दा बढी भाडा लिन पाउने छैनन्।
सार्वजनिक गरिएको सूचीअनुसार सबैभन्दा महँगो भाडा काठमाडौं-धनगढी रुटमा १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा सस्तो काठमाडौं-सिमरा रुटमा ३ हजार ९७८ रुपैयाँ कायम भएको छ।
प्रमुख गन्तव्यका लागि तोकिएको अधिकतम भाडादर:
काठमाडौं-विराटनगर: रु. ९,७८५
काठमाडौं-भद्रपुर: रु. १२,११२
काठमाडौं-नेपालगञ्ज: रु. १३,१०३
काठमाडौं-धनगढी: रु. १७,५७९
काठमाडौं-भैरहवा: रु. ८,४६१
काठमाडौं-पोखरा: रु. ६,६३५
काठमाडौं-जनकपुर: रु. ५,४७०
काठमाडौं-भरतपुर: रु. ४,६४३
काठमाडौं-सिमरा: रु. ३,९७८
काठमाडौं-राजविराज: रु. ८,२१०
काठमाडौं-सुर्खेत: रु. ९,०३०
काठमाडौं-तुम्लिङ्टार: रु. ७,६३०
बढी भाडा लिए कडा कारबाही हुने
प्राधिकरणले तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम लिएर टिकट बिक्री गर्ने कुनै पनि वायुसेवा कम्पनी, आधिकारिक टिकट विक्रेता वा ट्राभल एजेन्सीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।
कुनै यात्रुसँग बढी भाडा असुलिएको पाइएमा प्राधिकरणको हटलाइन नम्बर ०१४११३१६३, विमानस्थलमा रहेको सुरक्षा निकाय वा प्राधिकरणको वेबसाइटमा रहेको ‘स्वैच्छिक सूचना प्रतिवेदन प्रणाली’ मार्फत तत्काल उजुरी गर्न सकिने प्राधिकरणले जनाएको छ।
असोज १७, २०८२ शुक्रबार ०९:२६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।